• १२ साउन २०८१, शनिबार

मार्सी धानको व्यावसायिक खेती

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असार ७ गते । मार्सी धान लोप हुन थालेपछि त्यसको जगेर्ना र संरक्षणका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले मार्सी धानको व्यावसायिक खेती सुरु गरेको छ । मार्सीलगायत रैथाने जातका धानलाई प्रोत्साहन दिन उक्त गाउँपालिकाले मार्सी धान खेती लगाउन सुरु गरेको हो ।

वडा नं. ४ पिस्कर जलजलेको लितिखेतमा साढे पाँच रोपनीभन्दा बढी जग्गामा मार्सी धान खेती सुरु गरेर सो गाउँपालिकाले कृषकलाई सहयोग गर्न थालेको छ । 

पालिकाले कृषिमा आत्मनिर्भर हुन वडा नं. २ मा १३० रोपनी जग्गामा तीन हजार पाँच सय सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती सुरु गरेको छ । 

वडा नं. ३ मा टिमुर पकेट क्षेत्र घोषण गरी टिमुर खेती सुरु गरेको छ । “पालिकाभरका जमिनमा जुन खेती हुन्छ, त्यहाँको माटोको अवस्था 

परीक्षण गरी जे उत्पादन हुन्छ, त्यही खेती सुरु गरिएको पालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । सबै किसानलाई आबद्ध गराई समग्र कृषकको आर्थिक स्थिति सुधारमा गापा लागेको उहाँले बताउनुभयो ।

हिमाली क्षेत्रमा उत्पादन हुने मार्सी धानलाई पिस्करको लितिखेतमा व्यावसायिक रूपमा खेती सुरु गरेर कृषकलाई कृषि क्षेत्रबाटै आत्मनिर्भर बनाउन पालिका लागेको वडा नं. ४ का अध्यक्ष टेकबहादुर गुभाजू (विजय) ले बताउनुभएको छ । उक्त मार्सी धानलाई अन्य स्थानमा विस्तार गरिने भएको छ । मार्सी धान उत्पादन राम्रो भएमा आगामी दिनमा मार्सी धान खेतीलाई प्रोत्साहन र व्यावसायिक खेती गर्न पकेट क्षेत्रका रूपमा विस्तार गरिने भएको छ । बजारमा मार्सी धानको चामलको माग अत्यधिक रहेको छ । गाउँपालिकाका मार्सी धान खेतीमा प्रोत्साहन र सहयोगका कार्य गर्न थालेपछि कृषक मार्सी धान रोप्न उत्साहित भएका छन् ।