• १२ साउन २०८१, शनिबार

भरतपुरमा अब असीसिटे जहाज

blog

वसन्त पराजुली/शालिग्राम नेपाल 

नारायणगढ, असार ७ गते । विस्तारको तयारी भइरहेको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले ८० सिटे ठूलो जहाजको सेवा सफल परीक्षण गरेको छ । हाल ४७ सिटेभन्दा साना जहाज मात्रै अवतरण भइरहेको भरतपुर विमानस्थलमा श्रीले ८० सिटे जहाज परीक्षणमा सफलता पाएको हो ।  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीलगायतका अतिथिलाई साक्षी राखेर श्रीले बिहीबार आफ्नो परीक्षण उडान गरेको हो । परीक्षणका क्रममा श्री एयरलायन्सले चालक दलसहित प्राविधिकको टोलीसमेत अध्ययनका लागि भरतपुर ओरालेको छ ।  

श्री एयरलायन्सले गरेको परीक्षणले अब ब्याटस ८ क्यु ४०० अर्थात् ८० सिटे जहाजले पनि सेवा दिन सक्ने भएको हो । भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार दुई सय मिटर छ । विस्तारका क्रममा ४१२ मिटर थप गरिने योजना अघि बढिसकेको अवस्थामा ठुला जहाजको परीक्षणमा सफलता पाएको हो । 

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “टेस्ट (परीक्षण) सहज भयो, यसले अब प्रतिस्पर्धा बढाएर जहाजको भाडामा कमी आउने विश्वास गरौँ ।” उहाँले विस्तारका क्रममा रहेको भरतपुर विमानस्थलको टर्मिनल भवन बनेपछि रात्रिकालीन सेवा सहज हुँदा आन्तरिक र बाह्य पर्यटनलाई सहयोग पुग्ने धारणा राख्नुभयो ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले देशकै ट्रान्जिट पोइन्टमा रहेको भरतपुर विमानस्थलमा ठुला जहाजको सेवा आवश्यक रहेको बताउनुभयो । “यहाँका जनता सात वर्षदेखि यही समयको पर्खाइमा हुनुहुन्थ्यो । चितवनवासीले यो हदसम्मको प्रगति पाउँदै हुनुहुन्छ,” उहाँले थप्नुभयो, “कुनै पनि हिसाबले बाधा अवरोध हुन नदिई काम अगाडि बढाएका छौँ । निर्माणमा अवरोध नहुने वातावरण हामीले मिलाउँछौँ ।” भरतपुरमा अब एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने पनि उहाँले जनाउनुभयो । 

श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले परीक्षण अवतरणमा पाएको सफलतासँगै भरतपुरमा अहिलेकै अवस्थामा पनि ठुला जहाजको सेवा दिन सकिने बताउनुभयो । 

प्राधिकरणका महानिर्देशक अधिकारीले श्री एयरलायन्सले प्रक्रिया पूरा गरे काठमाडौँ–भरतपुरको उडान अनुमति दिने बताउनुभयो । “ठुला जहाज अवतरणकै लागि विमानस्थलकै विस्तार गर्दै छौं । अहिले त ८० सिटे जहाज अनुमति दिन्छौँ भने विस्तारपछि जेट नै पनि अवतरण गर्न सकिने विमानस्थल बन्ने छ,” उहाँले भन्नुभयो । 

भरतपुर विमानस्थल विस्तारको काम सन् २०२५ को जनवरी फस्र्टबाट सुरु हुने पनि उहाँले जनाउनुभयो ।  यसै वर्षको बजेट भाषणबाटै यो विमानस्थल विस्तारको योजना अघि सारिएको छ । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले विमानस्थल विस्तारका लागि झन्डै साढे चार अर्ब रुपियाँ बराबरको बजेट सङ्घीय सरकारले विनियोजन गरिएको अवस्थामा अहिले भरतपुरमा ठुलो जहाजले समेत सेवा दिन थाल्नु खुसीको कुरा भएको बताउनुभयो ।