• १३ असार २०८१, बिहिबार

कोहलपुरमा खानेपानी सङ्कट, मागको आधा वितरण

blog

कोहलपुरमा रहेको खानेपानी वितरण गर्ने मुख्य ट्याङ्की । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, असार ५ गते । बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ । 

संस्थाका अध्यक्ष टेकनारायण भुसालले अत्यधिक गर्मीका कारण खानेपानीको माग दिनदिनै बढ्दै गए पनि मागका आधारमा पानी पु¥याउन नसकिँदा पानीको ठुलो सङ्कट उत्पन्न भएको बताउनुभयो । संस्थाले अहिले उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको उहाँले बताउनुभयो । भुसालले भन्नुभयो, “विविध कारणले यो याममा पानीको माग अत्यधिक बढेको छ तर दुई तीन महिनापछि पानीको माग ह्वात्तै घटेर आधाआधीमा आउने गरेको छ ।” यो समयमा सबै उपभोक्तालाई पानी पु¥याउन हम्मे हम्मे परेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय अगुवा चेतनारायण भट्टराईका अनुसार कोहलपुरमा प्रत्येक दिन उपभोक्ताको सङ्ख्या बढिरहेको छ तर पानीको स्रोत भने आवश्यक मात्रामा बढ्न नसक्दा समस्या चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाको तथ्याङ्क अनुसार कोहलपुरमा अहिले खानेपानीका करिब पाँच हजार सात सय उपभोक्ता छन् । अन्य वर्षमा भन्दा यस वर्ष कोहलपुरमा पानीको सङ्कट बढी देखिएको छ । लामो समयसम्म पानी पर्न नसक्नु र अत्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोत सुक्नुले पनि समस्या बढेको देखिएको छ । 

भूमिगत स्रोतबाट पानी सङ्कलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाले पानी पु¥याउन नसकेपछि वितरणको समयमा केही कटौतीसमेत गरेको छ । अध्यक्ष भुसालले भन्नुभयो, “अन्य सिजनमा हामी बिहान ५ घण्टा र बेलुकी ५ घण्टा पानी वितरण गथ्र्यौं तर यतिबेला तीन घण्टा मात्र वितरण गर्दै आएका छौँ । कुनै लाइनमा बिहान र कुनैमा बेलुकी पनि पानी छोड्दै आएका छौँ ।” 

यही समयमा व्यक्तिका ह्यान्डपम्प र अन्य पानीका स्रोत सुकेकाले पनि खानेपानीमा माग ह्वात्तै बढेको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल कोहलपुरका सात वटा वडामा खानेपानी वितरण गरिरहेको छ । जसमध्ये सबैभन्दा बढी उपभोक्ता ११ नम्बर वडाका छन् । 

त्यसै गरी वडा नम्बर १ र २ का लागि नौ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेर त्यसै क्षेत्रका जनतालाई पानी वितरण गर्ने योजनामा पनि आफूहरू रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । त्यसका लागि नेपाली सेनाको ब्यारेकको पछाडि १५ कट्टा दुई धुर जग्गा प्राप्त गर्ने काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।