• १२ असार २०८१, बुधबार

पूर्वी नाकाबाट तरकारीको आयात घट्यो

blog

दमकको सब्जी बजार ।

बिष्णुप्रसाद पोखरेल

दमक, असार ३ गते । झापा सहित पूर्वी नेपालमा तरकारी उत्पादन बढेपछि आयात घट्दै गएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टा अनुसार यो चालु आर्थिक वर्षमा झण्डै २५ करोड मूल्य बराबरको तरकारी आयात घटेको हो ।

गत आर्थिक वर्षको १० महिनामा १ अर्ब ६१ करोडको तरकारी आयात भएकोमा यो वर्ष १ अर्ब ३६ करोड मूल्यको तरकारी आयात भएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कँडेलका अनुसार गत वर्षको तुलनामा यो वर्ष तरकारी आयतमा कमी देखिएको छ ।

सङ्गठित रूपमा सहकारी तथा समुहरुले व्यावसायिक रूपमा तरकारी उत्पादन गर्न थालेसँगै आयत घट्दै गएको हो । स्वदेशमा नै सब्जी उत्पादन हुन थालेपछि आयत कम हुनु सुखद भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो । "व्यावसायिक तरकारी खेतीप्रति आकर्षण बढ्दा आयत घटेको हो", उहाँले भन्नुभयो ।

पछिल्लो समयमा कृषि सहकारी संस्थाहरूले उत्पादन र बजारीकरणमा ध्यान दिन थालेका छन् । स्थानीय सरकार र प्रदेश सरकारले कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गर्दा यसबाट किसानहरूको आकर्षण बढेको उहाँको भनाइ छ । बेमौसम तरकारी खेती पनि बढ्दै गएको उहाँले जनाउनुभयो ।

दमक नगरपालिका वडा नं. ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाले २ महिनामा करिब ६ लाख मूल्यको सागसब्जी उत्पादन गरेर बिक्री गरेको छ । संस्थाका व्यवस्थापक दीपक खनालका अनुसार ८५ जना सहकारीमा आबद्ध रहेका किसानले व्यावसायिक रूपमा तरकारी उत्पादन सुरु गरेका छन् ।