• १२ असार २०८१, बुधबार

हर्षोल्लासका साथ मनाइँदै बकर इद

blog

सुनसरीको हरिनगर गाउँपालिका २ को भुटाहा इदगाहामा नमाज पढ्दै ।

जयकृष्ण यादव 

इनरुवा, असार ३ गते । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात् बकर इद सुनसरीको इदगाहा र मस्जिदमा हर्षाेल्लासका साथ मनाएका छन्।

जिल्लाको सदरमुकाम इनरुवा, कोशी, हरिनगर, भोक्राहा नर्सिङ, रामधुनी, इटहरी, धरान, गढी, दुहबी, बर्जु गायत जिल्लाभरका इदगाहाहरुमा ईदुल अजहा अर्थात् बकर इद मुस्लिम धर्मावलम्बीहरु हर्षाेल्लासका साथ मनाइरहेका छन् ।

विभिन्न स्थानमा रहेका इदगाह तथा मस्जिदहरुमा भेला भई सामूहिक नमाज पढेर एक आपसमा अङ्कमाल गरी एकआपसमा जीवनभरि रहेको रिसराग र क्रोध, रिसिबीहरुलाई यो दिन प्रेम मायामा बदली अङ्कमाल गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

इदुल अजहा अर्थात् बकर इदको नमाज पढिसकेपछि मुस्लिम धर्मावलम्बीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बलि दिने गर्दछन् । 

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सबैभन्दा प्यारो वस्तु कुरवानी मागेपछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको बलिस्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास छ । आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, राँगा तथा पाठीहरुको बलि दिएर सुनसरीका मुस्लिमहरुले ईदुल अजहा अर्थात् बकर इद मनाइरहेका छन् ।

कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरिबहरु जसको कुरबानी गर्ने पैसा हुँदैन, उनीहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई इष्टमित्रहरुमा बाँड्ने र तेस्रो भाग मासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।

इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो महान् चाडपर्व बकर इद इदुल अजहा २०८१ असार ३ गते सोमबारका दिन परेकाले आजको दिन नेपाल सरकारले सार्वजानिक बिदा दिएकोमा मुस्लिम धर्मावलम्बीले नेपाल सरकारप्रति खुशी व्यक्त गरेका छन् । मुस्लिम धर्मावलम्बीहरु इस्लामी महिनाको अन्तिम महिनाको तीन दिन १०, ११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ । तीन दिनसम्म कुरबानी गर्ने गर्दछन् ।