• १२ असार २०८१, बुधबार

परिवारसँगै कमाउँदै, रमाउँदै

blog

नवराज श्रेष्ठ

रामेछाप, असार ३ गते । अहिले गाउँमा युवा खासै भेटिँदैनन् । कति युवा राम्रो पैसा कमाएर परिवारमा खुसी दिने सपना बुनेर बिदेसिएका छन् । अध्ययनको बहानामा धेरै पैसा कमाउनकै लागि ठुलो लगानी फसाएर बिदेसिएका छन् । यसका कारण गाउँघरमा युवा शक्तिको खडेरी जस्तै छ । गाउँमा युवा नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै बस्ने क्रम पनि बढ्दै गएको छ । 

रोजगारीका लागि विदेश जानुको अन्य विकल्प नदेखेर दिनहुँ धेरै युवा बिदेसिँदा जिल्लाको सुनापति गाउँपालिका–५, खनियाँपानीका ल्हापसङ तामाङले भने गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । 

तामाङले सुनापति गाउँ कार्यपालिकाको कार्यालयनजिकै न्यु सुनापति मोटरसाइकल वर्कसप सञ्चालन गरेर चार जनाको परिवारको पालनपोषणसहित शिक्षादीक्षा गरिरहनुभएको छ । 

केही समयअघिसम्म बेरोजगार तामाङको आफ्नै गाउँमा केही गर्ने सोच लिएर केही वर्ष उहाँले मासु पसल पनि चलाउनुभयो । चार जनाको परिवार धान्न सक्ने आम्दानी नभएपछि मासु पसल बन्द गरेर वैकल्पिक कामको खोजीमा लाग्नुभयो । 

गाउँघरमा धेरै गुड्ने र प्रायः सबैले चढ्ने मोटरसाइकल भएकाले यसको मर्मत तालिम लिएर गाउँमा बस्ने सोच पलायो । यहीबिचमा ढुङ्गा खोज्दा देवता भेटियो भने झैँ तामाङलाई मोटरसाइकल मर्मत तालिमबारे जानकारी भयो ।  

सामुदायिक विकास समाज मन्थलीको प्राविधिक तथा कृषि तालिममार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धन परियोजनाले गत वर्षको भदौदेखि मङ्सिर १५ सम्म सञ्चालन गरेको ३९० घण्टे सिटिइभिटी लेबल एकको तालिम लिएपश्चात् टहरा भाडामा लिएर मोटरसाइकल वर्कसप सुरु गरेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हातमा सिप नहुँदा चाहेर पनि केही गर्न सकिएको थिएन । तालिमले मेरो जीवनको बाटो मोडिएको छ । अहिले वर्कसप राम्रो चलेको छ । दैनिक दुई हजार रुपियाँसम्म बच्छ । यसबाट हाम्रो चार जनाको परिवार चलेको छ ।” 

व्यवसाय सुरु गर्दा परियोजनाले एक लाख ९२ हजार रुपियाँ बराबरको सामग्री सहयोग गरेको र आफ्नो ८० हजार रुपियाँ लगानी भएको उहाँले बताउनुभयो । “वर्कसपमा सुरुवाती चरणदेखि अहिलेसम्म कुनै दिन खाली हात बस्नु परेको छैन, कहिले पार्टपुर्जा फेर्न त कहिले इन्जिन मर्मतको काम आइरहन्छ । आफ्नै गाउँमा केही गरिखान पाउँदा म र मेरो परिवार पनि खुसी छौँ,” उहाँले भन्नुभयो । 

यस्तै सुनापति गाउँपालिका–३ का ३४ वर्षीय मिलन श्रेष्ठले पनि गाउँमा मिलन टेलर्स एन्ड प्रशिक्षण केन्द्र सञ्चालन गरेर राम्रो कमाइ गरिरहनुभएको छ । श्रेष्ठले परियोजनामार्फत सञ्चालन भएको सिटिइभिटीको लेबल एकको ३९० घण्टे सिलाइकटाइ तालिम लिनुभएको हो । 

गाउँमै सिलाइकटाइको काम पहिलादेखि नै गरे पनि त्यसबेला सिलाइसम्बन्धी पूर्ण ज्ञान नभएको र सम्बन्धित विषयमा प्रमाणपत्र पनि नहुँदा सेवाग्राहीको रोजाइ अनुसारको डिजाइनमा सिलाउन नसकेको उहाँ सम्झनुहुन्छ । अहिले तालिमपश्चात् प्रमाणपत्रसमेत भएकाले व्यवसाय पनि बढेको र सिलाइकटाइ तालिममा प्रशिक्षकका रूपमा काम गर्दै आएको उहाँले बताउनुभयो । 

व्यवसाय सञ्चालन गर्न परियोजनाले व्यावसायिक योजना हेरेर एक लाख ६५ हजार रुपियाँ बराबरको मेसिन र फर्निचर सहयोग गरेको र आफ्नो तीन लाख रुपियाँ बढी लगानी भएको भन्दै उहाँले अहिले मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । 

सुनापति गाउँपालिकाका तामाङ र श्रेष्ठ जस्तै यो गाउँपालिकाका १२ जनाले सिटिइभिटीबाट तालिम लिएपश्चात् आफ्नै गाउँमा विभिन्न व्यवसाय गरिरहेका छन् । यसै गरी खाँडादेवी गाउँपालिकाका १३ युवाले तालिम लिएर आफ्नै गाउँमा व्यवसाय सुरु गरेका परियोजना संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार गत वर्ष तालिम लिएका दुई गाउँपालिकाका गरी १० जना युवाले सिलाइकटाइ, मोटरसाइकल वर्कसप र ब्युटी पार्लर व्यवसाय पाँच÷पाँच जनाले सञ्चालन गरिरहेका छन् । त्यसै गरी इलेक्ट्रिसियन र मोटर मर्मत दुई÷दुई जनाले तथा एक जनाले कम्युटरसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेका छन् ।