• १३ असोज २०८१, आइतबार

दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ

blog

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ, असार १२ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताउनुभएको छ ।

बुधबार लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लागुऔषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताउनुभयो । लागुऔषध दुर्व्यसनी नेपालमा विकराल भएको भन्दै उहाँले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा मात्र नभई जुम्ला लगायतका हिमाली जिल्लाहरूमा समेत लागुऔषधको दुर्व्यसनी विकराल बनेको बताउनुभयो ।

‘‘म यही मञ्चबाट सबै राजनीतिक दलहरू, प्रतिपक्षदेखि लिएर सबैलाई के अनुरोध गर्दछु भने यस्ता लागुऔषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा हामी सबै एक ठाउँमा उभिनुपर्छ । अरू झिना मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय होइन ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘लागूपदार्थको दुर्व्यसनीले समाजमा कत्तिको समस्या भइरहेको छ, भन्नेकुरा अध्ययन, अनुसन्धानबाटै थाहा भइसकेको छ । बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता राष्ट्रिय रोग र बेथिति हाम्रा मुद्दा हुन् । हामी एक भएर लड्नुपर्छ । यस्ता विषय राजनीतिक मुद्दा बनोस् ।’’

मन्त्री श्रेष्ठले लागुऔषध दुर्व्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताउनुभयो ।