• १५ असार २०८१, शनिबार

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै 'सामी' परियोजना

blog

कपिलवस्तुको सदरमुकाम तौलिहवामा पत्रकारसँग गरिएको अन्तक कार्यक्रम । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असार १२ गते । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको 'सामी' परियोजना प्रभावकारी बनाउन कपिलवस्तुमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मूल नारालाई लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत तेस्रो चरणमा भइरहेको हो । 

परियोजनाले वैदेशिक रोजगारमा जानेको लागि आवश्यक सिपमूलक तालिमहरू निःशुल्क रूपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया, कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिइने बताइएको छ ।

जिल्लाका कपिलवस्तु, बाणगंगा, शिवराज, बुद्धभुमि नगरपालिका र मायादेवी गाउँपालिका गरी पाँच वटा स्थानीय तहहरूमा सञ्चालन भइरहेको छ ।

'सामी'का परियोजनाका जिल्ला संयोजक सुभाष रेग्मीका अनुसार परियोजनाले यस आर्थिक वर्षमा आप्रवासन स्रोत केन्द्रबाट वैदेशिक रोजगारीमा जाने ५ हजार ४ सय ६९ महिला र ३२ हजार ९२ जना पुरुषलाई वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गरेको बताउनुभयो । हालसम्म कपिलवस्तुबाट १ लाख ४ हजार ३६३ जना वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मात्र हो ।

नेपालबाट भने गत वर्ष ७ लाख ७१ हजार ३ सय २७ जना विभिन्न मूलकमा वैदेशिक रोजगारीका लागि गएका थिए । कपिलवस्तुबाट आर्थिक वर्ष ०७९-०८० मा १५ हजार १०१ जना वैदेशिक रोजगारीका लागी गएको उहाँको भनाइ छ ।

यस्तै, चालु आर्थिक वर्षको जेठ महिनाभित्र १२ हजार ८८ जनाले श्रम स्वीकृत लिएका छन् । जसमा महिला ४ सय ३२ जना रहेका छन् । कपिलवस्तुमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका ३ सय ३४ वटा उजुरी परेका छन् । यस्तै चालु आर्थिक वर्षमा १ सय ५३ वटा ठगी सम्बन्धी उजुरी परेका छन् । पीडितलाई १ करोड ९८ लाख ५१ हजार ५ सय क्षतिपूर्ति दिलाइएको छ ।

सामी परियोजनाका लुम्बिनी प्रदेश संयोजक जियाउल हकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा  मात्र वैदेशिक रोजगारीमा गएका कपिलवस्तुका ४२ जनाको मृत्यु भएको बताउनुभयो । बुद्धभूमि नगरपालिकाका १३, बाणगंगा नगरपालिकाका ७, महाराजगन्ज नगरपालिकाका ५, कपिलवस्तु नगरपालिकाका ५, शिवराज र कृष्णनगर नगरपालिकाका एक एक जना मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै मायादेवी गाउँपालिकाका ६, यशोधरा गाउँपालिकाका २, विजयनगर र शुद्धोधन गाउँपालिकाका एक एक जनाको मृत्यु भएको उहाँको भनाइ छ ।

आठ जना अङ्गभङ्गमा परेका छन् । विगत ३ वर्षमा भने कपिलवस्तुका १ सय २६ जनाको मृत्यु र ३८ जना अङ्गभङ्गमा परेका छन् ।  ३ वर्षमा नेपालका ३ हजार ८ सय ४६ मृत्यु र ७१२ जना अङ्गभङ्गमा परेका छन् ।

जिल्लाका फोकल पर्सन एवम् कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार वैदेशिक रोजगारीलाई प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यका साथ परियोजनाले कार्य गर्दै आइरहेको बताउनुभयो । परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरूलाई पनि आवश्यक सहयोग गरिने उहाँको भनाइ छ ।