• १२ असार २०८१, बुधबार

सामूहिक खेतीले फेरिएको उर्लेनी गाउँ

blog

राजकुमार भट्टराई 

खोटाङ, असार ३ गते । परम्परागत मकै, कोदो, धानलगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयको करिब छ वर्षअगाडि सोच बदलियो । अहिले उनीहरूको जीवनस्तर र दैनिकी बदलिएको छ ।  

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपा उर्लेनी गाउँमा अहिले करिब ६० वटा टनेलमा तरकारी खेती भइरहेको छ । गाउँका २६ घरपरिवारले गरेको यो सामूहिक खेती आम्दानीको स्रोत मात्रै बनेको छैन, अरूका लागि प्रेरणा पनि बनिरहेको छ । सुरुमा विदेशबाट फर्किएका १२ जनाले सामूहिक कृषि खेती गर्ने सल्लाह गरे । त्यसपछि गाउँका अन्य १४ घरपरिवार पनि जोडिएपछि उर्वरा कृषक समूह दर्ता गरेर २६ परिवारले अहिले सामूहिक खेती गरिरहेका छन् । 

यस समूहका अध्यक्ष छत्रमान राई, चामकुमार राई, रमेश राई, अविराज थुलुङ, सुनील राई, अञ्चल राई, केदार राई, मनकुमार राई, दीपक राई, मदन राई, किशोर राई, रोतन राई र मेजर राई विदेशबाट फर्किएर सामूहिक खेतीमा लागेका हुन् । उर्वरा कृषक समूहको मुख्य बाली टमाटर हो । टमाटरसँगै बन्दा, काउली, मुला, प्याज, अकबरे खोर्सानी, तिते करेला, काँक्रा, जुखुने फर्सीलगायतका बाली उनीहरूले लगाउने गरेका छन् । उत्पादन भएको कृषि उपज बजारसम्म लैजान समूहले छ लाखमा एउटा अटो खरिद गरेका छन् । सोही अटोबाट बुइपादेखि दिक्तेल बजारसम्म कृषि उपज लगरे उर्वरा समूहले बिक्री गर्ने गरेको समूहका अध्यक्ष छत्रमान राई बताउनुहुन्छ ।

सिजनका बेला हरेक दिन कृषि उपज बजार पुग्ने गरेको छ । अन्य समय बेमौसमी उपजहरू शुक्रबार बुइपा साप्ताहिक हाटमा लगेर बिक्री गर्ने गरेको अध्यक्ष राईको भनाइ छ । बुइपा बजारमा उर्वरा कृषक समूहको कृषि उपज बिक्रीवितरणका लागि नगरपालिकाले छुट्टै संरचना निर्माण गरिदिएको छ । बजारमा निर्माण भएको संरचनामा अन्यलाई शुल्क लाग्ने भए पनि उर्वरा समूहलाई निःशुल्क संरचना उपलब्ध गराइएको बुइपाका वडाध्यक्ष दिनेश राई बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र खोटाङले उर्वरा कृषक समूहलाई आर्थिक वर्ष २०७७/७८ मा २५ लाख र आव २०७८/७९ मा १२ लाख गरी हालसम्म ३७ लाख अनुदान रकम प्रदान गरेको छ । सरकारबाट अनुदान लगेर कृषि खेती गर्नेहरूको सूचीमा उर्वरा समूह एक नम्बरमा आउने ज्ञान केन्द्रका सूचना अधिकारी सञ्जयकुमार पण्डित बताउनुहुन्छ ।

उर्वरा कृषक समूहले गाउँभरिको करिब छ सय रोपनी जग्गामा चार ठाउँमा छुट्टाछुट्टै क्लस्टर निर्माण गरेर खेती गरेका छन् । करिब ८० वटा टनेल र टनेलबाहिर पनि तरकारी खेती गरिरहेका कृषक समूहलाई केही समयअघि आएको हावाहुरीले क्षति गरेको छ । अन्य तरकारीका बिरुवा हुर्किंदै गरेको अध्यक्ष राई बताउनहुन्छ ।

२६ घरलाई चारदेखि पाँच समूहमा विभाजन गरेर काम गर्ने गरिएको छ । हरेक घरबाट एक जनाको उपस्थितिमा कुनै समूहले खनजोत गर्ने, कुनै समूहले मल बोक्ने, कुनै समूहले बिरुवा उत्पादन गर्नेलगायतको काम बाँडफाँट गरिएको छ । कुनै समूहले उत्पादन भएको उपज बजारसम्म लगेर बिक्री गर्ने गर्छ । उपज बिक्री भएर जम्मा भएको रकम हरेक शनिबार समूहको बैठकले हिसाब गरेर कोषमा जम्मा गर्ने गरेको छ । समूहका सदस्यले हरेक महिना १२५ रुपियाँ रकमसमेत कोषमा जम्मा गर्ने गरेका छन् । उक्त रकम अनिवार्य रूपमा तरकारी बिक्रीबाट आम्दानी गरेको हुनुपर्ने नीति राखिएको छ । 

समूहभन्दा फरक सबैले आआफ्नो घुरेनमा छुट्टाछुट्टै तरकारी खेती पनि गर्ने गरेका छन् । त्यसको बजारीकरण पनि समूहले नै गर्ने गरेको छ । समूह र व्यक्तिगत गरेर हरेक परिवारले वर्षको चार/पाँच लाख कमाउने गरेको समूहका सदस्यहरू बताउँछन् । जसले गर्दा घरपरिवार चलाउन अहिले उर्लेनी गाउँका नागरिकलाई कुनै समस्या छैन । युवाहरू पनि वैदेशिक रोजगारीमा जान छाडेर गाउँमै आधुनिक खेती गर्न जागरुक भएका छन् । 

खेतीमा लाग्ने रोग र त्यसको उपचार पनि समूहका सदस्य आफैँले गर्न जान्ने भएका छन् । समूहले कमाएको आम्दानी सबै सदस्यलाई बराबर बाँढेर समूहको कोष रित्तो बनाउनेभन्दा पनि आवश्यकताका आधारमा बाँड्ने र अन्य रकम कोषमा जम्मा गर्ने गरेका छन् ।