• ७ कात्तिक २०८१, बुधबार

विषालु हुनसक्छ, जङ्गली च्याउ

blog

मकवानपुरको भिमफेदीमा माया परियारले जङ्गलबाट सङ्कलन गरेर ल्याएको सल्ले च्याउ। तस्बिर : अनिल पराजुली।

अनिल पराजुली

हेटौँडा, असार २ गते। वर्षायाम सुरु भएसँगै गाउँघरमा जङ्गलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ। जङ्गलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउ पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ। धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरेर जङ्गली च्याउ खोजेर खाने गरिन्छ। 

कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन्। यसरी जथाभाबी  च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ। कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ। 

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ चुनिया आफ्नै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किरण थिङले गाउँमा पाइने सेतो रङ्गको सल्ले च्याउ नखान सुझाव दिनुभएको छ। वर्षायाम सुरु भएसँगै चट्याङ पर्दा यो च्याउ जङ्गलमा उम्रने गरेको उहाँको भनाइ छ। गाउँघरमा सल्ले च्याउ सेतो हुने भएकाले विषालु सर्पले खानेकुरा भनेर डस्ने गरेको र त्यही च्याउ खाँदा मान्छे मर्ने तथा बिरामी हुने गरेको उहाँको अनुभव छ। 

च्याउ खाँदा राम्रोसँग सफा गरेर उसेनेर टिमुर हालेर मात्रै खान उहाँले आग्रह गर्नुभयो। सो क्षेत्रमा प्राकृतिक रूपमा सिताके च्याउ पाउने गरेको र स्थानीयले एकदमै रुचाएर खानेगरेको उहाँको भनाइ छ। 

वनमा डढेलो लागेपछि सल्ले च्याउ उम्रने गरेको भिमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाकी माया परियारको भनाइ छ। जेठदेखि असार अन्तिमसम्म यो च्याउ उम्रने गरेको छ। पहेँलो र कालो च्याउ खान नहुने बताउँदै सेतो च्याउ खान हुने उहाँको भनाइ छ। उहाँले जेठ महिनामा जङ्गलबाट दुई पटक च्याउ सङ्कलन गरेको बताउनुभयो। 

वनस्पति अनुसन्धान केन्द्र,मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले च्याउको सही पहिचान गरेर पकाउने र खाने प्रक्रियामा पनि सजकता अपनाउन आग्रह गर्नुभयो। जङ्गली च्याउ धेरै प्रकारको हुने भएकाले जङ्गली च्याउको पहिचान गरेर मात्रै खान उहाँको सुझाव छ।