• १० असार २०८१, सोमबार

क्षमता विकासका लागि वाक् कला प्रशिक्षण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २ गते । महिलाहरुको क्षमता विकासका लागि वाक् कला तालिम दिइएको छ । मानेभञ्ज्याङ गाउँपालिका–३ उबुका आमा दिदीबहिनीहरुको क्षमता विकास गर्दे सशक्तिकरणका लागि उक्त तालिम दिइएको हो । 

मानेभञ्ज्याङ गाउँपालिका–३ को आर्थिक सहयोगमा सगरमाथा स्वास्थ्य आमा समूह सञ्जालको आयोजनामा महिला सहभागिहरुलाई वाक् कला अन्तर्गत भाषण र उद्घोषणकला सीप विकास साथै नेतृत्व विकासको विषयमा पाँच दिन सिकाइएको सञ्जालकी अध्यक्ष टेककुमारी राईले बताउनुभयो । साविक उबु गाउँ विकास समितिको नौ वडाका ३६ जना महिलालाई क्षमता विकासका लागि तालिम दिइएको अध्यक्ष राईको भनाइ छ । 

तालिममा साविक वडा तहका रहेका आमा समूहका प्रतिनिधिहरु र अन्य युवती, किशोरीको समेत सहभागिता रहेको राईले जानकारी दिनुभयो । सार्वजनिक स्थल र कार्यक्रममा बोल्न साथै आफ्ना माग राख्न, पैरवी गर्न बोल्न जरुरी रहेकाले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण र भाषणकला तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

समुदायमा रहेका आमा दिदीबहिनीहरुले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न नसक्दा र नजान्दा आइलागेका अप्ठ्यारालाई यो तालिमले सहज बनाएको वडा अध्यक्ष जितेन्द्र राईले बताउनुभयो । सशक्तीकरणका लागि क्षमता विकास, सोच परिवर्तन, आत्माविश्वास, मनोबल साथै वाक् क्षमता आवश्यक रहेकाले महिलाहरुलाई तालिमको लागि वडामार्फत बजेटको व्यवस्था गरिएको वडा अध्यक्ष राईले बताउनुभयो । यसले नेतृत्व विकासमा समेत टेवा पुग्ने र सवल समाज निर्माणमा सहयोग हुने उहाँको भनाइ छ । 

तालिममा वाक् क्षमता अभिवृद्धिका लागि भाषण र उद्घोषण कला, नेतृत्व विकास कलाको प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा सैद्धान्तिक, व्यावहारिक र अभ्यास कार्यलाई जोड दिइएको थियो । तालिममा सहभागी महिलाहरुले वाक् कला जीवनाेपयोगी कला रहेको प्रतिक्रिया दिएका छन् । पाँच दिनमा आफ्नो जीवनलाई सहज बनाउने कलाको सिकाइ भएको उहाँहरुको प्रतिक्रिया छ ।