• ९ असार २०८१, आइतबार

सबस्टेसन निर्माण सम्पन्न

blog

तिलाचन पाण्डे

तम्घास, असार २ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७, उनायचौरमा बनेको विद्युत् सबस्टेसनको निर्माणको काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने काम भइरहेको छ । तम्घासको उनायचौर सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको र अहिले परीक्षणका क्रममा रहेको बुर्तिबाङ, पौदीअमराइ, तम्घास, सन्धिखर्क, गोरुसिङ्गे १३२ केभी प्रशारण लाइन आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । 

अहिले परीक्षणका क्रममा रहेको र परीक्षण सफल भएपश्चात् वितरणको प्रक्रिया अगाडि बढाउने गरी तयारी गरेको चौधरीको भनाइ छ । लामो दुरीबाट आउने लाइनमा विभिन्न समस्या आउँदा लामो समयसम्म विद्युत् नहुने समस्याबाट अब मुक्त हुने र भोल्टेजको समेत समस्या नहुने उहाँको दाबी छ । लामो समयदेखि विद्युत्को समस्या झेल्दै आएका गुल्मेली समस्याबाट मुक्त हुने भएका छन् । हावा चल्दा पनि विद्युत्को समस्या झेल्दै आएका गुल्मेलीले तम्घासको उनायचौरमा बनेको १३२ केभिए सबस्टेसनको निर्माण सम्पन्न भएकाले उक्त समस्याबाट मुक्त हुने भएका छन् । लामो दुरी बुटवलबाट ३३ केभिएमार्फत आएको लाइनबाट प्रसारण हुँदा सामान्य समस्या आउँदा पनि विद्युत् जाने र लामो समयसम्म आउन नसक्ने हुँदा गुल्मेलीले समस्या झेल्दै आएका थिए । 

आयोजनाको कुल लागत चार अर्ब ८६ करोड रहेको र तम्घाससङ्गै तीन वटा स्टेसनको कार्य सम्पन्न भएको चौधरीले बताउनुभयो । बाँकी दुई वटा सबस्टेसनको निर्माण कार्य पनि सम्पन्न भएको बताउँदै रुख कटान कार्यमा समस्या आएकाले चार्ज गर्न नसकिएको चौधरीले बताउनुभयो । रुख कटानको अनुमति पाएमा छिट्टै पौदीअमराई र बुर्तिबाङको सबस्टेसनको पनि परीक्षण गर्न सकिने गरी तयारीमा रहेको उहाँले बताउनुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सबस्टेसन बनेसँगै गुल्मीलगायत छिमेकी जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने र विद्युत्बाट झेल्दै आएका समस्याबाट मुक्त हुने बताउनुभयो । 

हावा चल्दा पनि विद्युत् जाने समस्याका कारण विद्युतीय (इभी) गाडी चार्जिङमा समेत समस्या आउने गरेको मैत्री यातायात प्रालिका कार्यालय प्रमुख हरि मरासिनीले बताउनुभयो । विद्युत् नहुँदा गाडी चार्जिङ नभएर नम्बर नै रद्द गर्नुपर्ने अवस्था धेरै पटक आएको उहाँको भनाइ छ । मैत्री यातायातले गुल्मीमै पहिलो पटक तम्घासदेखि बुटवलसम्मका लागि १० वटा इभी गाडी सञ्चालनमा ल्याएको छ ।