• ९ असार २०८१, आइतबार

रातामाटे सबस्टेसन निर्माणको सम्झौता

blog

काठमाडौँ असार २ गते । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को प्रशारणलाइन परियोजना अन्तर्गत बन्ने थप एक सबस्टेसनको निर्माण सम्झौता भएको छ । नवलपरासीमा बन्ने न्यु बुटवल सबस्टेसनको ठेक्का सम्झौता लगत्तै एमसीए–नेपालले नुवाकोट जिल्लाको बेलकोटगढी–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न शुक्रबार भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । 

ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) प्रविधिमा आधारित र एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको एमसीए नेपालले जनाएको छ । 

५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसन बिच विद्युत् प्रसारणको लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ । रातामाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनहरूबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता हुनेछ ।  

एमसीसी परियोजना अन्तरर्गत बन्नुपर्ने अर्को दमौली सबस्टेसनको पनि ठेक्का प्रक्रिया जारी रहेको र  छिट्टै गर्ने तयारी छ । सन् २०२४ भित्र सबै सबस्टेसन र प्रशारणलाईनको ठेक्का सम्झौता गरिसक्ने योजना एमसीए नेपालको छ । न्यु बुटवल सबस्टेसनको करिव १ महिना पहिले नै ठेक्का सम्झौता भएको हो भने त्यहाँदेखि दक्षिण नेपाल–भारत सिमानासम्म बन्ने १८ किलोमिटर ४ सय केभी प्रशारणलाईनको ठेक्का आवेदन मुल्याङकन गरिरहेको छ । साउनमा ठेक्का सम्झौता गर्ने तयारी एमसीए नेपालको छ ।

रातामाटे सबस्टेसन निमार्ण सम्झौतामा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले हस्ताक्षर गर्नुभयो । एमसीसी नेपाल कम्प्याक्ट अन्तरर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसीए–नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो । 

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन निर्माण महत्वपूर्ण उपलब्धि हुने उल्लेख गर्नुभयो 

मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएको उल्लेख गर्नुभयो । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसिए–नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताउनु भयो । 

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ ।