काठमाडौँ, चैत १३ गते । ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा कार्यशाला तथा तालिम सञ्चालन गरिएको हो ।
कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा.डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले प्रस्तुती दिनुभएको थियो ।
सो कार्यशालाको सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले प्रस्तुति दिनुभयो । उहाँले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताउनुभयो ।
खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराउनुभयो । गाउँलले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यशालामा बोल्दै परिषद्का अध्यक्ष प्रा.डा. नारायण विक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणाली सुधारका लागि सहजता हुने बताउनुभयो । ‘‘स्वास्थ्य अनुसन्धानको परिणाम आम मान्छेसम्म पुर्याउन मिडियाको महत्त्वपूर्ण हुन्छ,’’ डा. थापाले भन्नुभयो ।
दोस्रो सत्रमा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति : सिद्धान्त र अभ्यास’ विषयमा प्रा.डा. गणेश दंगालले प्रस्तुती दिनुभयो । डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा प्रस्तुती दिनुभयो ।
त्यसैगरी, अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्त्व’ विषयमा प्रस्तुती दिनुभएको थियो । कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)का कार्यवाहक अध्यक्ष बुद्धि कटेलले यस्तो कार्यकाला कोशेढुंगा हुने विश्वास व्यक्त गनुभयो ।