• ४ असार २०८१, मङ्गलबार

दुई घण्टा पछि सर्‍यो बागमती प्रदेश सभा बैठक

blog

बागमती प्रदेश सभा सचिवालय भवन ।

राममणि दाहाल
हेटौँडा, असार १ गते ।
 बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन दिउँसो ४ बजेका लागि तोकिएकोमा दुई घण्टा पछाडि सारिएको छ । प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर दुई घण्टाका लागि सारेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्न शनिबार दिउँसो ४ बजेका लागि समय तोक्नुभएको थियो ।

तर ५ बजे सूचना टाँस गरी विशेष कारणवश भन्दै साँझ ६ बजेका लागि समय निर्धारण गरिएको छ ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) दिनको ४ बजे बस्ने बैठकमा प्रस्तुत हुने भनिएकोमा विशेष कारणवश आजै साँझ ६ बजे प्रस्तुत हुने उल्लेख छ ।

सत्तारुढ दलभित्रै बजेट भागबण्डामा विवाद भएपछि बजेट निर्माणमा ढिलाइ भएको जनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घीय सरकारबाट आउने अनुदानमा कटौतीसँगै प्रदेशको राजस्व सङ्कलनमा आएको कमीका कारण प्रदेशका मन्त्रालयहरूलाई चालु आवको भन्दा सिलिङ घटाएर योजना र कार्यक्रम ल्याउन पत्राचार गरेको थियो ।

तर मन्त्रीहरूले बजेट अपुगभएको बताउँदै दबाब दिएपछि स्रोत सुनिश्चित नहुँदा पनि चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाइएको छ । चालु आवको बजेट ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ रहेको छ ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । विनियोजन विधेयक प्रदेश सभामा प्रस्तुत भएपछि आर्थिक विधेयक पेस गरी छलफल अगाडि बढाइने छ ।