काठमाडौँ, जेठ १७ गते । पदयात्रा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्यले महिला ट्रेकिङ गाइडलाई तीन दिने ओरेन्टेसन तालिम आयोजना गरेको छ । देशैभरका ३० जना महिला गाइडलाई नेपाल पर्यटन बोर्ड र पासाङल्हामु फाउन्डेसनले संयुक्त रूपमा तालिम दिएको हो ।
पर्यटनलाई पूर्वपश्चिम क्षेत्रमै प्रवर्द्धन गर्ने लक्ष्यले गाइडहरूलाई थप दक्ष बनाउन तीन दिनसम्म तालिम दिएको थियो । नक्सा हेर्ने, कम्पास तथा जिपिएसको सहयोगले बाटो पत्ता लगाउने, प्राथमिक उपचार तथा हाइअल्टिच्यूटबाट बच्न सक्ने, मौसम सम्बन्धी जानकारी लिन सक्ने र पर्यटकलाई भौगोलिक जानकारीसँगै स्थानीय समुदायको संस्कृतिलाई प्रचार गर्ने लगायतका सीपहरू तालिममा दिइएको प्रमुख प्रशिक्षक माउन्टेन गाइड रितेन जाङबु शेर्पाले जानकारी दिनुभयो । तालिममा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशबाट विगत १२ वर्षदेखि पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर । तस्बिरः नेपाल पर्यटन बोर्ड
पर्यटन प्रवर्द्धनका लागि दक्ष महिला जनशक्ति उत्पादन र सीपको विकास गर्न पर्यटन बोर्डले तालिम आयोजना गरेको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा बोल्नु हुँदै उहाँले पूर्वी नेपाल देखि पश्चिमसम्म पर्यटनको विकास गर्न प्रदेशगत समावेशिताको आधारमा तालिम आयोजना गरिएको र यसले थप पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमलाई माउन्टेन गाइड पेम्वा वाङछु शेर्पा, पासाङ तेन्डी शेर्पा, लक्मी तामाङले रक क्लाइम्विङ, डोरीको सहायताले अग्ला पहाडहरू पैदलले काट्ने लगायतका सीपहरू प्रशिक्षण गर्नुभएको थियो । पासाङल्हामु फाउन्डेशले समन्वय गरेको उक्त कार्यक्रम जेठ १५ गते देखि सुरु भएर शनिवार सम्पन्न भएको थियो ।
