• ४ असार २०८१, मङ्गलबार

पालिकाबाटै राष्ट्रिय परिचयपत्र

blog

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिँदै । फाइल तस्बीर

जनार्जन खत्री
सर्लाही, असार १ गते ।
 जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने भएको छ ।

कार्यालयले शनिबार सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय रहेको मलङ्गवा नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको हरिवन तथा बरहथवा नगरपालिकाबाहेक अन्य १७ वटा पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि टोली खटाउने भएको हो ।

कार्यालयले यसअघि शुक्रबार सूचना जारी गरी ईश्वरपुर नगरपालिकाको कार्यालयमा रहने स्टेसनबाट ईश्वरपुर नगरपालिकाभित्रका नागरिक र गोडैता नगरपालिकाको कार्यालयमा रहने स्टेसनबाट गोडैता नगरपालिकासहित बलरा नगरपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिकाका बासिन्दाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने उल्लेख गरेको थियो ।

शनिबार फेरि शुक्रबारको उक्त सूचनालाई परिमार्जन गरी जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय नरहेका १७ वटै पालिकामा पालैपालो कर्मचारी परिचालन गरेर विवरण सङ्कलन गर्ने उल्लेख गरिएको छ । सोही अनुसार असार ३ देखि ६ गतेसम्म बलरा नगरपालिका, गोडैता नगरपालिका र ईश्वरपुर नगरपालिकामा विवरण सङ्कलन टोली खटिने भएको छ ।

रामनगर गाउँपालिकामा असार ३ देखि ५ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने टोली बस्ने छ । उक्त टोली असार ७ देखि ९ गतेसम्म भने धनकौल गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बस्ने छ ।

त्यस्तै कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा असार १० देखि १२ गतेसम्म तथा हरिपुर नगरपालिका र हरिपूर्वा नगरपालिकामा असार १० गतेदेखि १३ गतेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी टोली परिचालन गर्ने छ । यी १२ वटा पालिकामा विवरण सङ्कलन भएपश्चात् प्रशासन कार्यालय नरहेको बाँकी पाँच पालिकामा यसैगरी मिति तोकेर कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीका अनुसार पालिकाको कार्यालयमै गएर विवरण सङ्कलनका लागि आवश्यक कर्मचारी र उपकरणको प्रबन्ध भइसकेको छ । आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन अनिवार्य गरिएपछि केही दिनदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्ने सेवाग्राहीको थेगिनसक्नु भिड लागेको थियो ।

कार्यालयमा एकैपटक धेरै सेवाग्राही पुग्दा काम गर्न अप्ठ्यारो परेको र सेवाग्राहीले पनि सास्ती खेप्नु परेपछि पालिकाकै कार्यालयमा कर्मचारी खटाएर विवरण लिन लागिएको हो । जिल्ला प्रशासन कार्यालयले अब आ–आफ्नो पालिकामा आउने टोलीलाई पर्खिएर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरेको छ ।

तीन वर्षअघि पनि यसैगरी प्रत्येक पालिकामा टोली परिचालन गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने काम गर्दा धेरैले बेवास्ता गरेका थिए ।