• १९ असार २०८१, बुधबार

निर्वाचनमा भयरहित वातावरण सिर्जना गर्न प्रहरीलाई निर्देशन

blog

काठमाडौं, वैशाख १४ गते। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले सङ्गठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिनुभएको छ। 

प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअलरूपमा भिडियो कन्फ्रेन्समार्फत् उहाँले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। 

उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो। 

प्रदेश प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो कार्यकालमा सङ्गठनको हित तथा सुधारका लागि निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो।

सङ्गठनको प्रणाली, कार्यविधि, नीतिलगायत सङ्गठनको सुधारका निम्ति तयार गरिएको कार्ययोजना एवं मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अङ्गीकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो।