• ८ असार २०८१, शनिबार

सीमा अपराध र सुरक्षाको महत्त्वबारे छलफल

blog

सीमा सुरक्षा विषय कार्यक्रममा ईशनाथ नपाका नगरप्रमुख कौशल्या देवीलगायत । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र
गौर, असार १ गते । 
सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रण विषयबारे सशस्त्र प्रहरीले रौतहटको ईहनाथ नगरपालिका ४ स्थित सीमावासीसँग छलफल कार्यक्रम गरेका छन् ।

ईशनाथ नगरपालिका-४ काली मन्दिरस्थित मुख्य सीमा स्तम्भ नं. ३४९ नजिकै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा इलाका मा सशस्त्र प्रहरीले सीमावासीसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्नमा सशस्त्र प्रहरीको अहम् भूमिकाबारे चर्चा गर्नुहुँदै ईशनाथ नगरपालिकाका नगरप्रमुख कौसल्या देवीले यस्ता दायित्व निर्वाह गर्न सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

नगरप्रमुख देवीले सर्वसाधारण जनतालाई घरायसी प्रयोजनको सामग्री तथा किसानलाई खेती गर्नका लागि मल, खाद्य तथा विउविजन सीमावर्ती भारतीय बजारबाट ल्याउन दुवै देशका सुरक्षा निकायले सहजता प्रदान गर्नुपर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा वर्षायामको सुरुवातसँगै बर्सेनि हुने बाढी डुबानबाट हुने ठुलो जनधनको क्षति जोगाउनु पर्ने उपाय तथा भारतीय पक्षद्वारा निर्मित साइफन बाढी डुबानबाट क्षति हुनु अगावै खोल्न पहल गर्ने, सीमामा हुन सक्ने अवैध गतिविधिको सशक्त अनुगमन तथा निगरानी गर्ने, सीमा स्तम्भको रेखदेख, सीमा सुरक्षाको महत्त्व, खेतीपातीको समयमा किसानलाई मलखाद्य तथा विउविजन ल्याउन भारतीय समकक्षी एसएसबी लगायत दुवै देशका निकायद्धारा सहजीकरण गर्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल  नं. ११ गण हेडक्वाटर रौतहटका सशस्त्र  प्रहरी उपरीक्षक विक्रम होमागाईले बताउनुभयो ।

त्यस्तै, सीमासँग जोडिएको पालिकाका स्थानीयवासीले उत्पादन गरेको कृषि तथा अन्य सामग्रीहरू जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हैरानी बेहोर्नु पर्ने समस्या समाधान हुनुपर्ने माग राखेको जानकारी उहाँले दिनुभयो ।

सीमा नजिक रहेका मदिरा पसल एउटा निश्चित समयमा खोल्ने तथा बन्द गर्ने, सीमा इलाकामा आवतजावत गर्ने सर्वसाधारणलाई शौचालयको निमार्णका लागि पहल गर्ने, भारतीय नम्बरको सावरी साधना वारिपारि व्यवस्थापन गर्ने विषयमा छलफल भएको तथा स्थानीयवासीले राखेको जिज्ञासाको सम्बोधन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका सशस्त्र  प्रहरी उपरीक्षक होमागाईले गर्नुभएको थियो ।

कार्यक्रममा ईशनाथ नपाका नगरप्रमुख देवी, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक होमागाई, सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरू, ईशनाथ नपा वडा नं. २ र ४का वडाध्यक्षहरू, भद्रभलादमी, स्थानयीवासीहरु लगायत सशस्त्र प्रहरीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।