• ४ असार २०८१, मङ्गलबार

बागमती नदीमा छोडियो एक लाख माछाका भुरा

blog

मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा माछाका भुरा छाडिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, असार १ गते । 
बागमती नदीमा एक लाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एक लाख २५ हजार माछाका भुरा छाडिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन  एवम् संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका माछाका भुरा छोडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछाका भुरा छोडिएको केन्द्रका वरिष्ठ  मत्स्य विकास अधिकृत सरोज कुमार यादवले जानकारी दिनुभयो ।

बागमती नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरूलाई समेत ध्यान दिएर माछा नदीमा छोडेको यादवले बताउनुभयो । यहाँ माझी समुदायको बाहुल्यता रहेको र माछा मारेरै उनीहरूले जीविका धान्ने गरेपनि अहिले नदीमा माछा नपाइँदा उनीहरूको परम्परागत पेसा नै सङ्कटमा परेको उहाँले बताउनुभयो । नदीमा माछा लोपभएसँगै अहिले गोही, चराहरू र जलसँग आश्रित जीवजन्तु सङ्कटमा पर्दै गएका छन् । माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले माछाको सङ्ख्या वृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहत दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ । प्रति माछाका भुरा ७५ पैसामा खरिद गरी नदीमा छाडिएको थियो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले यहाँ माझी लगायत जलसँग आश्रित समुदायको पेस सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले अघिल्लो पुस्ताहरूले माछा मारेरै जीविका चलाएपनि अहिले नदीमा फोहर, ढल, केमिकल मिसाइदा र नियम विपरीत नदी उत्खनन गर्दा जलीय प्राणी हराउँदै गएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले माछा मार्नका लागि खोलामा विषादी हाल्ने, करेन्ट लगाउनेलगायतका कार्य तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

बागमती नदीमा बागी, बुदुना, वाम, सहरी, गर्दी, लहरी, कत्ले लगायतका माछा पाउने गरेको स्मरण गर्दै बागमती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दन्त लाल माझीले अहिले नदीमा माछा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले माझी समुदायको पेसा नै सङ्कटमा परेको बताउनुभयो । ‘‘हाम्रो बाजे बाबुले नदीमा गएर माछा मारेर ल्याउनुहुन्थ्यो, सानोमा म आफैँ पनि माछा मारेर घरको छाक टार्थें, अहिले खोलामा माछा नै पाउन छाड्यो नदीसँग जोडिएको हाम्रो पेसा लोप हुँदै गयो,’’ वडा अध्यक्ष माझीले स्मरण गर्नुभयो ।