• ८ असार २०८१, शनिबार

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

blog

राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसा ।

प्रिटोरिया (दक्षिण अफ्रिका), असार १ गते । दक्षिण अफ्रिकी संसद्ले शुक्रबार सातौँ संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले रामाफोसा पुनः राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको खुलासा गरेको छ ।

“केपटाउन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा आयोजित ७औँ लोकतान्त्रिक संसद्को राष्ट्रियसभाको पहिलो बैठकबाट माननीय सिरिल रामाफोसा दक्षिण अफ्रिका गणतन्त्रको राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुनुभएको छ”, एएनसीले एक्समा भन्यो ।

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काङ्ग्रेस पार्टीले दुई हप्ताअघि भएको चुनावमा एएनसीले ३० वर्षको बहुमत गुमाएपछि बिहीबार मुख्य विपक्षी र अन्य दलसँग गठबन्धन सरकार गठन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न सहमति भएको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राष्ट्रपतिको रूपमा रामाफोसाको यो दोस्रो कार्यकाल रहेको दक्षिण अफ्रिकाको समाचार एजेन्सीले बताएको छ । रासस/एएनआई