• ४ असार २०८१, मङ्गलबार

सुदूरपश्चिममा ३३ अर्बको बजेट सार्वजनिक हुँदै

blog

भवानी ऐर
गोदावरी (कैलाली), असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।

सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुहुने छ । चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याउँदैछ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताउनुभयो । ‘‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठुलो बजेट आउँछ,’’ पालले भन्नुभयो, ‘‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’’

यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार नै प्रदेश गौरवका योजनालाई निरन्तरता दिने र अन्य क्रममागत पूर्वाधार विकास योजनालाई तीव्ररुपमा अघि बढाउने योजना रहेको मन्त्री पालले जानकारी दिनुभयो ।

यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने योजना रहेको उहाँको भनाइ छ ।