• ४ असार २०८१, मङ्गलबार

नेपाललाई दक्षिण अफ्रिकाले दियो एक सय १६ रनको मध्यम लक्ष्य

blog

सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ । 

सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनायो । 


दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्वीटन डि ककले १० रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द सिंह ऐरीले तीन विकेट झार्नुभयो । 

 समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्नेबाध्यता छ । नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । 

नेपाललाई सुपर आठमा पुग्न बलियो दक्षिण अफ्रिकासँगै अर्को खेलमा बङ्गलादेशलाई हराउनु पर्ने चुनौती छ । नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गरेको हो । 

अघिल्ला तीन खेलमा लगातार जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै सुपर आठमा पुगिसकेको छ । बलियो दक्षिण अफ्रिकालाई हराउन नेपालले अब ब्याटिङ पनि सुधारिएको प्रदर्शन गर्न आवश्यक छ ।

दक्षिण अफ्रिकाविरुद्ध जित निकालेमा नेपालले आज बलियो टेस्ट टोलीलाई पहिलो पटक हराएर इतिहास रच्नेछ  । 

दक्षिण अफ्रिकाविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), अशिफ खेस (विकेट किपर), कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अभिनाष बोहोरा ।