• ७ कात्तिक २०८१, बुधबार

डुम्रे खोला-सुनडाँडा-तेल्घा-गुफाचौर-गावुडाँडा-सल्लाघारी-होलाङ्दीसम्मको सडक निर्माण सुरु

blog

सडक निर्माण सुरु गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, जेठ ३२ गते । तानसेनको चार वडाका बासिन्दाले लाभ लिने गरी सात किलोमिटर सडक निर्माण सुरु गरिएको छ । तानसेनको डुम्रे खोला-सुनडाँडा-तेल्घा-गुफाचौर-गावुडाँडा-सल्लाघारी-होलाङ्दीसम्मका सात किलोमिटर सडक निर्माण सुरु भएको हो । 

विश्व बैँकको सहयोगमा सात किलोमिटर सडक कालोपत्रे बनाउने गरी काम सुरु गरिएको हो । सडक बनेपछि तानसेनको वडा नं. ८, १०, ११ र ५ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । तानसेन नगरपालिकाको गौरव योजनाका रूपमा रहेको यो सडकले तानसेनको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । 

भारत र नेपालका तराई क्षेत्रबाट भित्रिने पर्यटकलाई तानसेन, रानीमहल, गफाचउरसम्म ल्याउन सडकले भूमिका खेल्ने नगरपालिकाले जनाएको छ । यसका साथै सडकले छुने चार वटा वडाका नागरिकले उत्पादन गरेका कृषिजन्य बस्तुको विक्रीमा पनि सहजता ल्याउने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकीय सडकले प्रत्यक्ष रुपमा डुम्रे, सुनडाँडा, तेल्घा, गुफाचौर, गावुडाँडा, सल्लाघारी, होलाङ्दी, बन्दीपोखरा, सेतीपोखरी लगायतका बासिन्दालाई प्रत्यक्ष लाभ हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

सडक निर्माणका लागि वेदान्सी इन्फ्रा इन्सट्रक्चर प्रालि र तानसेन नगरपालिकाबिच १३ महिनामा काम सक्ने गरी डेढ महिनाअघि सम्झौता भएको छ । सडक निर्माणका लागि ४५ करोड ७६ लाख ८३ हजार रुपियाँ खर्च हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । 

बाटो स्तरोन्नति भएपछि गुफाचौर जाने पर्यटकहरूमा वृद्धि हुने, स्थानीय स्तरमा होटल रेष्टुराहरू सञ्चालन हुने, कृषि उत्पादन तथा पशुपालनमा वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीयहरूको आयआर्जनमा वृद्धि हुँदै समग्रमा तानसेनको पर्यटन विकास हुने विस्वास गरिएको नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । यस्तै, तानसेनको मुख्य भाग र ग्रामीण वडासँगको आवतजावतमा समेत सहजता आउने उहाँले उल्लेख गर्नुभयो ।