• ७ कात्तिक २०८१, बुधबार

प्लाष्टिकजन्य फोहोरबाट सजावटका सामग्री

blog

फोहोरबाट बनाइएका घरायसी सजावटका सामग्रीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ३२ गते ।
म्याग्दीको मंगला गाउँपालिकाले प्लाष्टिकजन्य फोहोरलाई उपयोग गरेर घरायसी प्रयोजनका सुन्दर सामग्रीहरु बनाउने सीप सिकाएको छ । पालिकाको २ सिमलचौर, बावियाचौर, रणबाङ र सहस्रधारा वस्तीका महिला, विद्यार्थी र शिक्षकहरु गरी ६० जनालाई पालिकाले तालिम मार्फत सीप सिकाएको हो ।

सीपको उपयोग गर्दै स्थानीयहरुले बाटो, पसल वा विद्यालयका छेउछाउमा फालिएका विस्कुट, चकलेट र चाउचाउमा प्रयोग गरिएका कागज र प्लास्टिकबाट घरायसी प्रयोजनका सामग्रीहरु बनाउन थालेका छन् ।

फोहोरबाट घरायसी सजावटका सामग्रीहरु बनाउन थालेपछि वातावरणमा समेत सकरात्मक प्रभाव परेको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो ।


मंगला गाउँपालिकाको आयोजनामा बेकारबाट आविष्कार नाम दिएर फोहोरमा फालिएका प्लास्टिकजन्य बोटल, बोरा, चाउचाउ, मिठाई र विस्कुटका खोलसमेतका फोहोरलाई धोईपखाली आकर्षक घरायसी सामाग्रीहरु टोपी, डाली, चकटी, चप्पल, सुकुल र गुन्द्री तयार गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

प्लास्टिकजन्य फोहोर वस्तुको उपयोग गरेर मोहोर आर्जन गर्न सकिन्छ भनेर सीप सिकाएका छौं गाउँपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले भन्नुभयो, ‘‘यस्ता फोहोरजन्य प्लास्टिकको पुनः प्रयोगले वातावरण संरक्षणमा पनि योगदान पुग्ने विश्वास छ । खायर फालेका चाउचाउ, मिठाई, विस्कुटका खोलबाट चकटी, मुढा, फुलदानी, फुल, डोरी, माला, गमला लगायत घरायसी सजावटका सामग्री बनाउन सिकेका छन् ।’’

सीप सिकेपछि घर तथा टोलबाट फालिएका प्लास्टिकजन्य फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।