• १३ असोज २०८१, आइतबार

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

blog

किर्ते हस्ताक्षर गर्ने प्रशासन कार्यालयका कर्मचारी बोहरा । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ ३२ गते । जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत एक जना कर्मचारी पक्राउ परेका छन् । चीनसँगको सिमाना जोडिएको जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमा पासमा किर्ते हस्ताक्षर गरेर बाजुरा जिल्लाका तीन जना स्थानीयलाई उपलब्ध गराएपछि ती कर्मचारी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जिल्ला प्रशासन कार्यालयका कर्मचारी बाँचबहादुर बोहरा (विकल्प) सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीको किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले उक्त सीमापास पाएका बाजुराका तीन जना स्थानीयलाई हुम्ला जिल्लाको बासिन्दा बनाएर किर्ते हस्ताक्षर गरेर चीनको ताक्लाकोट पठाउने प्रयोजनका लागि सो कार्य गरेको पाईएको बताउनुभयो । 

सीमापास बोकेर चीनको ताक्लाकोट जाने क्रममा हिस्सामा नेपाल प्रहरीले चेकजाँच गर्दा नागरिकता र सीमापासमा फरक ठेगाना भेटिएपछि प्रहरी बाजुरा जिल्लाका ती तीन जनालाई नियन्त्रण लिएर जिल्लामा ल्याएको हो । तीन जनामध्ये एक जनालाई हिल्साबाट चीनतर्फ एक किलोमिटर गई सकेको अबस्थामा प्रहरी चिनीयाँ प्रहरीको सहयोगमा फिर्ता ल्याएको थियो । 

प्रहरीले सीमापास प्रदान गर्ने कार्यमा काम गर्दै आएका बोहराले गत जेठ १८ गते बाजुरा जिल्लाको साविकको जोरायल गाउँ विकास समिति–२ स्थायी ठेगाना भएका सोनाम थापालाई हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–३ को बासिन्दा बनाएर सीमा पासमा किर्ते हस्ताक्षर गरेर प्रदान गरेको हो । उहाँले अर्का बाजुरा जिल्लाको पाण्डुसेन गाविस–७ का स्थायी बासिन्दा शङ्कर सिंहलाई पनि जेठ २० गते हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–को बासिन्दा बनाएको सीमापास र त्यस्तै बाजुरा जिल्लाकै पाण्डुसेन गाविस– ६ स्थानीय घर भएका पेमा थापालाई पनि जेठ २० गते नै हुम्ला जिल्लाकै ताँजाकोट गाउँपालिका–३ को ठेगाना बनाएर चीनको ताक्लाकोट जानका लागि प्रदान गरेको सिमापासमा किर्ते हस्ताक्षर गरेको पाइएको छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका तनि जना बाजुराका स्थानीयले प्रशासन कार्यालयका कर्मचारी बोहरालाई एक जनाबाट आठ हजार रुपियाँ लिएको बताएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । यद्यपि प्रहरीको बयानमा भने बोहराले रकम लिएको अस्वीकार गरेको उहाँले बताउनुभयो । बयान लिने कार्य जारी रहेको र यो काम सम्पन्न भएपछि लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने) अभियोजन सहित जिल्ला सरकारी वकिल कार्यालयमा लैजाने प्रहरीले तयारी गरेको छ । 

 अदालतबाट बोहरा दोषी ठहर भए चारदेखि सात वर्ष कैद र सत्तरी हजार जरिवाना हुनेछ । कार्यालय सहयोगीका रुपमा कार्यरत बोहरा हाल निलम्बनमा परेका छन् ।