• ११ असोज २०८१, शुक्रबार

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन सांसद चौधरीको माग

blog

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी

काठमाडौँ, जेठ ३२ गते । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद चौधरीले चुरे क्षेत्रको वन मासिँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको उचित संरक्षणमा ध्यान पुर्‍याउन पनि सरकारलाई दबाब दिनुभयो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेशको ठुलो र उत्कृष्ट कार्यक्रम भए पनि त्यो विगत पाँच/सात वर्षदेखि राम्रो हुन नसकेको सांसद चौधरीको भनाइ थियो । उहाँले तराई÷मधेशको भारतसँगको सीमा क्षेत्रमा एनटिसीको मोबाइल सेवा टिप्न नसकेको गुनासो गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘‘चुरे अहिले दिनप्रतिदिन मासिदै गएको छ । त्यसकारण यसमापनि सरकारले ध्यान दिनुपर्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेशको ठुलो कार्यक्रम र निकै नै उत्कृष्ट कार्यक्रम थियो । तर यो पाँच/सात वर्षदेखि त्यो कार्यक्रम दिनप्रतिदिन राम्रो भइराखेको छैन । यतातिर म वनमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । तराई मधेशको बोर्डर एरियामा टेलिफोन लागिराखेको छैन । एनसेलको पकड बढी देखिन्छ । एनटिसीको पकड कम छ । त्यतातिर पनि ध्यान दिन आग्रह गर्दछु ।’’

सांसद चौधरीले एनसिटी मोबाइल सेवा सहज ढङ्गले सञ्चालन हुने वातावरण बनाउने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।