• ७ कात्तिक २०८१, बुधबार

अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार : उपकुलपति श्रेष्ठ

blog

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा आयोजना गरेको ‘अनुवाद गोष्ठी’ मा सहभागीहरु ।

काठमाडौँ, जेठ ३२ गते । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा आयोजना गरेको ‘अनुवाद गोष्ठी’को उद्घाटन गर्नुहुँदै उपकुलति श्रेष्ठले आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले जुन लोकभाषा, साहित्य, कथन, इतिहास, संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले प्रज्ञा–प्रतिष्ठानबाट कतिपय प्रसिद्ध पुस्तकहरू अनुवाद भइसकेका र त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिनुभयो ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद )विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षता गर्नुभएको थियोे । उहाँले भाषा जान्दैमा अनुवाद गर्न सकिन्छ भन्ने छैन, यो एक प्राविधिक विधा हो । प्रज्ञा–प्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीलाई क्रमशः सम्बोधन गर्ने छ । यससम्बन्धी प्रश्न र जिज्ञासाको निरुपण छलफल र विमर्शबाट हुने छ भन्नु हुँदै अनुवादले एकअर्कालाई परिचित गराउने बताउँदै गोष्ठीको समापन गर्नुभएको थियोे ।

गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान, विज्ञान र प्रविधिसँग समेत जोडिएको बताउनुभयो । यसले एकआपसमा भाषाको सञ्चार गर्छ र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्त्व रहेको हुन्छ भन्ने धारणा उहाँको छ ।

गोष्ठीमा डा.बलराम अधिकारीद्वारा लिखित ‘अनुवादको भाषा : सैद्धान्तिक बहस र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे । कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको ओैचित्यबारे व्याख्या गरिएको थियोे ।

यस गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनुवाद बोझिलो र भड्किलो हुन नहुने बताउनुभयो । उहाँले अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्छ । कुनै पनि स्रष्टाको अनुदित कृतिको मौलिकता र मर्म मर्नु नहुँने जिकिर गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य )विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्ने बताउनुभयो । गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियोे ।

गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी, अजितमान तामाङ, डा.सोम धिमाल, ठाकुर अमगाईँ, वेदना उपाध्याय, कृष्ण अधिकारी र उमेश बस्तीलगायतले उक्त कार्यक्रममाथि आआफ्नो सुझाव र जिज्ञासा प्रकट गर्नुभएको थियोे । गोष्ठीको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गर्नुभएको थियोे ।