• ७ कात्तिक २०८१, बुधबार

पर्यटकीय गन्तव्य तिलोत्तमा पार्क

blog

छ लेन सडकमा बुद्धमूर्ति । तस्विर : भुवन कार्की

भुवन कार्की

रूपन्देही, जेठ ३२ गते । रूपन्देहीको तिलोत्तमा नेपालको एक उत्कृष्ट नगरपालिका हो । भौगोलिक हिसावले पनि सुन्दर, सुरक्षित र शान्त समतल तिलोत्तमा सहरमा बस्ती पनि बाक्लिदैँ गएको छ । फराकिलो मोटरबाटो र व्यवस्थित बस्तीले सुसज्जित बन्दै गएको यस नगरमा थुप्रै पर्यटकीय स्थल निर्माण भइरहेका छन् ।

यस नगर क्षेत्रमा रहेका पार्कहरुलाई व्यवस्थित गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न योजनाहरु बनाएको छ । नगरपालिकाले प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर यी पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रयास गरिरहेको छ । चालु आर्थिक वर्षमा ‘एक वडा एक पार्क’को अवधारणामा कार्यक्रम सुरु गरेर नगरका १७ वटै वडाहरुलाई बजेट वितरण गरिएको छ । चालु आर्थिक वर्षमा हरेक वडालाई न्यूनतम एक लाख रुपियाँ पार्क निर्माणको लागि वितरण गरिएको छ । यो रकमले पार्क नभएका वडामा नयाँ पार्क निर्माणको थालनी गरिएको छ भने भएका पार्कहरुलाई थप व्यवस्थित गर्ने काम गरिएको छ । 

तिलोत्तमाको वडा नं. १ र २ को भूगोलमा पर्ने शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) यस क्षेत्रकै एक उत्कृट पार्क बनेको छ । यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले भन्नुभयो, ‘वनवाटिकामा वार्षिक ५ लाखको हाराहारीमा पर्यटकहरु भित्रिने गरेका छन् । यसलाई थप व्यवस्थित बनाउन विभिन्न परियोजना संचालन गरेका छौं ।’ अध्यक्ष शर्माका अनुसार ५१.३४ क्षेत्रफलमा फैलिएको यस वनवाटिका परिसरमा २५ प्रजातिका तीन सय ५० वटा वन्यजन्तु राखिएको छ । चितुवा, भालु, स्याल चिल, अजिंगर तथा विभिन्न प्रजातिका चराहरु यहाँ राखिएको छ । यहाँ विभिन्न साना पार्क तथा स्मृति स्तम्भहरु निर्माण गरिएको छ भने पार्कलाई हरियाली बनाइएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष फर्सुराम गिरीका अनुसार बाल उद्यान निर्माण गरेर बालबालिकाको लागि रेल समेत सवार गर्ने व्यवस्था मिलाईएको छ । वनभोज खान आउनेहरुको लागि दुई दर्जन सेडहरु निर्माण गरिएको छ । 


अध्यक्ष शर्माका अनुसार हरियाली प्रवर्धनका कार्यक्रमको लागि हाल सात लाखको बजेटमा काम भइरहेको छ । त्यस्तै १० करोडको लागतमा वनवाटिकाका संस्थापक अगुवा बाबुराम अर्यालको सम्झनामा स्मृति पार्क बनाउने योजना अघि सारिएको छ । 

त्यस्तै तिलोत्तमाको वडा नं. ६ स्थित मंगलापुरमा रहेको कुन्जपार्क पनि पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न पुगेको छ । करिब छ बिघा क्षेत्रफलमा फैलिएको यस पार्क हरियाली बोटविरुवा र बीचमा सुन्दर तालले सुसज्जित छ । स्टीमरमा सरर पानीमाथि सयर गर्न सकिने यस कुन्जपार्कमा आन्तरिक पर्यटक रमाउने गर्दछन् । वडा नं. ६ का वडाअध्यक्ष गणेश पाठकका अनुसार नगरपालिकाको सहयोगमा यो पार्कलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ । यसको क्षेत्रफल पनि विस्तार गर्ने योजना रहेको पाठकले उल्लेख गर्नुभयो । यस पार्कमा रम्न स्थानीयमात्र नभएर विभिन्न जिल्लाका मानिसहरु आउने गर्दछन् । खासगरी नयाँ वर्ष तथा जाडोयाममा वनभोज खान मानिसहरु धेरै आउने गर्दछन् । यहाँ पाँचवटा वनभोजका लागि सेडहरु निर्माण गरिएको छ । 

यस वडा नं. ६ मा तिलोत्तमा पार्क पनि व्यवस्थित छ । यस पार्कभित्र कवर्ड हल, खेलमैदान, खुल्ला ब्ययाम हल तथा चिल्डे«न पार्क निर्माण गरिएको छ । विगत सात बर्षको अवधिमा यहाँ करिब ५ करोडको लगानीमा संरचनाहरु निर्माण गरिएको वडाअध्यक्ष पाठकले जानकारी दिनुभयो । वडा नं. ६ कै आनन्दवन तथा बाउन्नकोटी सामुदायिक वन क्षेत्रमा हरियाली पार्क स्थापना गरिएको छ । यहाँ हरियालीसहित वनभोजका लागि सेडहरु निर्माण गरिएको छ भने दुर्गा मन्दिर स्थापना गरिएको छ । 

त्यस्तै तिलोत्तमा नगरपालिकाको वडा नं. १७ मा जमुहानी पार्क निर्माण गरिएको छ । यस पार्कलाई बहुउद्देश्यी प्रयोजनको लागि थप व्यवस्थित बनाउदै लागिएको वडाअध्यक्ष दानबहादुर चौधरीले बतानुभयो । चौधरीले भन्नुभयो, ‘वि.सं. २०७४ सालदेखि पार्क निर्माणको काम थालिएको हो, यसमा विभिन्न संरचना बनाइएको छ । थप व्यवस्थित गर्दै लगिएको छ ।’ चौधरीका अनुसार यस पार्कमा संरचना निर्माण गर्दा हालसम्म ४५ लाख रुपियाँ खर्च भइसकेको छ भने अर्को ५० लाखको काम भइरहेको छ । यस पार्कमा महाशिवरात्रीको मेला समेत लाग्ने गर्दछ । यहाँ विभिन्न मन्दिर तथा वनभोजका लागि सेडहरु निर्माण गरिएको छ । हनुमानको मूर्ति पनि निर्माण गरिएको छ । यहाँ बहुउपयोगी सामुदायिक भवन बनाउने तयारी पनि रहेको वडाअध्यक्ष चौधरीले बताउनुभयो । साढे दुई बिघा क्षेत्रफलको सार्वजनिक जग्गामा यो पार्क निर्माण गरिएको हो । वडा नं. ८ को करहिया सामुदायिक वन क्षेत्रमा पनि बोटानिकल पार्क निमार्ण गरिएको वडाअध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । यस पार्कलाई नमूना पार्कका रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।


तिलोत्तमालाई पर्यटकीय नगरको रुपमा विकास गर्न हरेक वडाहरुलाई चालु आर्थिक वर्षमा बजेट वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाँणले उल्लेख गर्नुभयो । उक्त अवधारणा अनुसार ‘एक वडा एक पार्क’ अभियान सुरु गरिएको खाँणले जानकारी दिनुभयो । यो कार्यक्रम अनुसार सबै वडाहरुले पार्क निर्माणको काम सुरु गरेको उहाँले बताउनुभयो । पुराना पार्कलाई थप व्यवस्थित गर्न र पार्क नभएका वडाहरुमा पार्क बनाउन प्रोत्साहित गरिएको उहाँको भनाई छ । नगरपालिकाबाट बजेट पाएपछि प्राय सबै वडाहरुले पार्क निर्माणको अभियान थालेको नगरपालिकाले जनाएको छ । तिलोत्तमाले बुटवल–भैरहवा छ लेन सडकको बीच भागमा पनि पार्कहरु निर्माण गरी फूल प्रजातिका बोटविरुवा तथा बुद्धका मूर्तिहरु पनि राखेको छ ।