• १३ साउन २०८१, आइतबार

धनगढीको आन्तरिक आम्दानी पौने छ करोडले बढ्यो

blog

धनगढी उपमहानगरपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, जेठ ३१ गते । विभिन्न स्थानीय तहका आन्तरिक आम्दानी घटेको देखिएको बेला धनगढी उपमहानगरपालिकाले पौने छ करोड रुपियाँ आन्तरिक आम्दानी बढाएको छ । 

फोहोरबाट समेत पैसा कमाइरहेको सो पालिकाले आर्थिक वर्ष २०७९-०८० मा पाँच करोड ७३ लाख २५ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको हो । 

यसअघि, आर्थिक वर्ष २०७८-०७९ मा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २२ करोड १९ लाख २२ हजार रुपियाँ रहेको थियो । आर्थिक वर्ष २०७९-०८० मा धनगढीको आन्तरिक आम्दानी बढेर २७ करोड ९२ लाख ४७ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

२६ करोड ८८ लाख ४६ हजार रुपियाँ आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी वृद्धि भएको जनाइएको छ । एकीकृत सम्पत्ति कर, घरजग्गा कर, बहाल बिटौरी कर, व्यवसाय कर, साना सवारी कर, तालतलैयाबाट उठ्ने राजस्व लगायत स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत छ ।