• १२ असार २०८१, बुधबार

श्रमाधान रोजगार मेला सम्पन्न, तालिम र परामर्श दिनेको वर्चस्व

blog

काठमाडौँ, जेठ ३१ गते । बागमती प्रदेशको ललितपुरमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा तालिम र परामर्श दिने संस्थाको वर्चस्व रहेको छ । रोजगार मेलामा सिधै रोजगारी पाइने आसले आएकाहरू निराश भए ।  अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका अधिकांश निरास भएर फर्किएका छन् । मेलामा रोजगारीभन्दा पनि सिप, तालिम र परामर्श दिने संस्था भएकाले रोजगारी खोज्न आएकाहरू निरास भएका हुन् । 

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा मङ्गलबार र बुधबार चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएको पाइयो । 

 यस्तैमध्येका एक हुनुहुन्छ, काठमाडौँ सामाखुसी बस्ने वविता अधिकारी । यसअघि सहकारीमा पैसा सङ्कलनमा लामो समय काम गर्दै आउनुभएको थियो । उहाँले काम गर्ने सहकारी बन्द भयो उहाँको रोजगारी पनि गुम्यो । मेलाबाट आफूलाई मिल्ने रोजगारी पाइने आसमा आएकी अधिकारीले भन्नुभयो, “रोजगारी नै पाइन्छ भनेको सुनेर आएँ, यहाँ त तालिम र परामर्श दिने स्टल मात्रै देखेँ ।” ललितपुर लेलेका विष्णुभक्त श्रेष्ठ पनि रोजगारी पाइने आसमा मेलामा आइपुग्नुभयो । सिकर्मीसम्बन्धी काममा राम्रै अनुभव भएको बताउने उहाँले अरूको फर्निचर पसलमा थोरै पैसामा काम गर्दै आएको बताउनुभयो । मेला मेरो सिप अनुसारको काम पाइन्छ कि भनेर आएको खै केही भेटिएन उहाँले भन्नुभयो “मलाई भर्खर जागिर चाहिएको छ, फर्म भरेर उनीहरूलाई चाहिएपछि फोन गर्छौं भन्छन् खोइ मलाई त पत्यार लागेन ।” सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयमा स्नाकोत्तर गर्दै गर्नुभएका कमल घिमिरे पनि जागिरको आसमा मेलामा आइपुग्नुभएको हो । कम्प्युटरको डेटा म्यानेजमेन्टसम्बन्धी तालिमसमेत लिनुभएका उहाँले भन्नुभयो “धेरै ठाउँमा फर्म भरेको छु, मेलापछि कहीँ न कहीँ जागिर पाइने विश्वास छ ।” एक डेढ वर्षदेखि जागिरका लागि धेरै ठाउँ धाइरहनुभएकी मनिसा थापाले समाजशास्त्र विषयमा स्नातकोत्तर गरिसक्नुभएको छ तर काम खोज्न जाँदा अनुभव के छ भन्ने प्रश्नले दिक्क हुनुहुन्छ । काम नपाइकन कसरी केको अनुभव दिनु उहाँले प्रतिप्रश्न गर्नुभयो । रोजगार मेलामा अनुभवबिना सानोतिनो जागिर पाइन्छ कि भन्ने आशा उहाँको छ । बागमती प्रदेशको रोजगार मेला अधिकारी, श्रेष्ठ, घिमिरे र थापा जस्ता लगभग दुई हजारले फिल्डमै गएर आवेदन दिएका छन् भने तीन हजार पाँच सयले अनलाइनमार्फत आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेशमा भएको मेलामा आवेदन दिएकामध्ये लगभग एक हजारलाई रोजगारी दिने आश्वासन प्राप्त भएको यस मेलाका संयोजक एवं श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवारले जानकारी दिनुभयो । 

मेलामा विशेष गरी रोजगारी सिर्जना, सिपमूलक तालिमको जानकारी, आवश्यक जनशक्तिको पहिचान युवा सशक्तीकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पु¥याउने खालका कार्यक्रम गरिएको थियो । 

प्रदेश संयोजक सुनुवारले यो मेला रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा ल्याएर आगामी दिनमा रोजगारीमा जोड्नका लागि राम्रो माध्यम बनेको दाबी गर्नुभयो । मेलाका अवलोकन गरेका सबैलाई रोजगारीको ग्यारेन्टी गर्न नसके पनि हामीसँग यस प्रकारको जनशक्ति रहेछ भन्ने जानकारी प्राप्त भयो उहाँले भन्नुभयो । 

दुई दिनसम्मचलेको रोजगार मेलामा करिब चौध हजार बढीले मेलाको अवलोकन गरेका छन् भने रोजगारीका लागि पाँच हजार अठतीस जनाले आवेदन दिएको र तीन हजार पाँच सय पाँच जनाले रोजगारीको आश्वासन पाएको बताइएको छ । बागमती प्रदेशमा भएको मेलामा बेरोजगार युवाको ज्ञान, सिप, क्षमताका आधारमा विवरण सङ्कलन गरिएको थियो । सो मेलामा ४१ स्टल राखिएको थियो । मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु गरी सातै प्रदेशमा मेला सञ्चालन भई जेठ ३० गते बागमती प्रदेशमा आएर सम्पन्न भएको हो ।