गुणबहादुर रोका
सुलीकोट, जेठ ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ स्थित गुम्दाको मुग्लुङ खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको-४ मा रहेको मुग्लुङ खोला जोड्ने मोटरेबल पुल दुई वर्षमा सम्पन्न हुने सम्झौता उल्लेख भएतापनि झण्डै त्यसको एक वर्षपछि तीन वर्षपछि मोटरेबल पुल सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका निर्मित कार्यालय प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरेबल पुल निर्माणका लागि कल्पवृक्ष निर्माण सेवा काठमाडौँसँग २०७८ साल जेठमा सम्झौता भई २०८० साल जेठमा नै दुई वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले विभिन्न कारण देखाई एक वर्षको लागि म्याद थपको लागि कार्यालयमा निवेदन दिएपछि एक पटक म्याद थपेपछि मात्र पुल निर्माण सम्पन्न भएको हो । बारपाक, लाप्राक हुँदै गुम्दासम्म पुग्ने मोटरेबल पुल २५ मिटरको छ ।
मोटरेबल पुल निर्माणसँगै पुलको वारिपारि ५०-५० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र कल्पवृक्ष निर्माण सेवा काठमाडौँसँग दुई करोड ७९ लाख लागतमा मोटरेबल पुल सम्पन्न भएको हो ।
पक्की पुलको निर्माणले बर्खामा पनि सजिलै आवतजावत गर्न सकिने भएको छ । पुल निर्माण सम्पन्न भएपछि उत्तरी भेगका आम नागरिकहरूलाई सहजै मोटर यात्रा गर्नका लागि सहज हुने साइट इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो । उक्त पुलबाट लाप्राक, गुम्दा हुँदै धार्चे हुँदै चुमनुब्री साथै धादिङ जिल्लाका स्थानीयलाई समेत यात्रा गर्न सहज हुने पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
त्यस ठाउँमा मोटरेबल पुल निर्माणले उत्तरी गोरखाका नागरिकलाई सहजै रूपमा गोरखा सदरमुकामदेखि काठमाडौँसम्म मोटर बाटो यात्रा गर्न निकै सहजै भएकाले मोटरबाटोबाट उत्तरी गोरखमा भएका जडिबुडी तथा उत्तरी भेगमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रूपमा घुम्न जाने वातावरण बनेको साइट इन्जिनियर मोहन श्रेष्ठको भनाइ छ ।