ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ३० गते । बेनी नगरपालिकाले यहाँका आमाहरुलाई नौमति बाजा बजाउने सीप र कला सिकाउन तालिम दिएको छ । एक महिना १५ दिनको तालिम लिएपछि महिलाहरु नौमति बाजा बजाउन सक्ने भएका छन् ।
बिवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग हुने र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि संस्कृति संरक्षणका निम्ति आमाहरूलाई तालिम दिन थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्याति लामिछानेले बताउनुभयो ।
बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा ‘उपप्रमुखसँग आमा समुह कार्यक्रम’ मार्फत वडा नम्बर १० पात्लेखेतका महिलाहरुलाई नौमति बाजा बजाउने सीप सिकाउन डेढ महिनाको तालिम दिएको हो । गाउँघरमा नौमति बाजा बजाउने सीप र कला लोप हुँदै जानथालेपछि संरक्षणका लागि बेनी नगरले महिलाहरुलाई तालिम प्रदान गरेको हो ।
गत वैशाख १६ देखि जेठ २८ गतेसम्म सञ्चालन भएको तालिममा पात्लेखेतका १५ जना महिलाहरु सहभागी भएका थिए । तालिमपछि उनीहरुलाई नौमति बाजाका सामग्रीहरु पनि सहयोग गरिएको छ ।
नौमति बाजा बजाउने कलाको संरक्षण गर्न तालिम महत्त्वपूर्ण भएको बेनी नगपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । ‘‘गाउँसमाजबाट नौमति बाजा बजाउने कला र सीप लोप भएर जानथालेको छ,’’ उहाँले भन्नुभयो ‘‘हाम्रो मौलिक कला, सीप र संस्कृति संरक्षण गर्न आमाहरुलाई नौमति बाजा बजाउने तालिम दिएका हौं । आमाहरुले सिकेको कला र सीपले समाजमा जागरुकता आउने छ ।’’
तालिम लिएपछि महिलाहरुमा नौमति बाजा बजाउने सीप विकास हुनुका साथै आत्मनिर्भर र स्वरोजगार बन्न समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा नं १० का वडा अध्यक्ष मस्बिर रोकाले तालिममा सिकेको कलालाई प्रयोग गर्न र सामाग्रीको सदुपयोग गर्न आमाहरुलाई अनुरोध गर्नुभयो । बेनी नगरपालिका कार्यपालिका सदस्य मनकुमारी विक र पात्लेखेत महिला संजालका अध्यक्ष सर्मिला राम्जालीले गाउँघरबाट हराउन थालेको संस्कृतिलाई महिलाहरुले संरक्षण गर्ने आशा व्यक्त गर्नुभयो ।