• १२ असार २०८१, बुधबार

झोलुङ्गे पुलको जोखिम

blog

उच्च हिमाली शृङ्खलादेखि बाह्रै महिना अविरल बग्ने नदीनाला स्वच्छ पानीका भण्डार मानिन्छन् । विश्व मानव सभ्यताको विकासक्रमसमेत यिनै नदीसँग जोडिएको छ । हामीकहाँ उच्च हिमाली शृङ्खलाका अतिरिक्त महाभारत शृङ्खला उद्गम भई बग्ने नदी तथा चुरे शृङ्खलाबाट बग्ने साना खोला तथा खहरेसमेत गरी छ हजारभन्दा बढी नदीनाला छन् । यी नदीनालामा आवश्यकता अनुसार तर्न परम्परागत रूपमा चलिआएका डुङ्गा, फड्के, तुइन तथा झोलुङ्गे पुल नै सहज माध्यम हु्न् । नदी तर्न सबैभन्दा भरपर्दो र सहज त झोलुङ्गे पुललाई नै मानिन्छ । सरकारले तुइनलगायतका खतरापूर्ण साधनलाई हटाएर झोलुङ्गे पुलको निर्माण विस्तार गर्ने योजना अघि सारे अनुरूप अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । पहाडी जिल्लामा तरितराउलाई सहज पार्ने उद्देश्यले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दियो । यिनै झोलुङ्गे पुल पनि पुराना भएर तथा कमजोर संरचनाका कारण चुँडिएर दुर्घटना हुँदा ज्यान गएका घटना प्रशस्तै छन् । भर्खरै मात्र पनि कर्णाली नदीमाथिको झोलुङ्गे पुल पार गर्न लागेका खच्चड एक्कासि पुलको लट्ठा चुँडिँदा ठुलो दुर्घटनामा परे । पिठ्युँमा सामान बाँधिएका खच्चड पुलमा अड्किएपछि अनेक उपायबाट उद्धार गर्ने क्रममा जाली काटेर कर्णाली नदीमा खसाउँदा दुई वटा मरे । घाइते ११ वटाको पशुचिकित्सकद्वारा उपचार भइरहेको छ । झट्ट सुन्दा सामान्य जस्तो लागे पनि जिम्मेवार निकायले यस घटनालाई गम्भीर रूपमा लिन आवश्यक छ ।

गत आइतबार दैनिक उपभोग्य सामग्री लिन अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडाको भाटगाउँबाट दैलेखको आठबिस नगरपालिका–४, खिड्किज्युला जाने क्रममा पुलको लट्ठा चुँडिएर पुल कोल्टे परेपछि १३ वटा खच्चड लामो समयसम्म उद्धारविहीन अवस्थामा अड्किएका थिए । ती खच्चडको छटपटाहट देख्ने जो कोही संवेदनहीन हुने अवस्था छैन । दुर्गम बस्तीसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने यातायातको साधन नै खच्चड भएकाले स्थानीय खच्चड मालिक जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहरा मात्र नभएर तमाम गाउँले चिन्तित बन्नु स्वाभाविक हो । विसं २०५७/५८ मा निर्माण भएको पुल यति छिट्टै जीर्ण नहुनुपर्ने विज्ञहरूको अभिमत छ । राणा शासनकालमा निर्माण भएका झोलुङ्गे पुल यतिबेला पनि आवागमनमा प्रयोग भइरहेका छन् भने निर्माण सामग्री कमसल प्रयोग भएकाले नै पुल जीर्ण भएर चुँडिएको हुन सक्ने उनीहरूको भनाइप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ । धेरै मालवाहक खच्चड एकै पटक पुलमा किन पठाइयो ? त्यो पनि गम्भीर विषय छ ।

पुल चुँडिएर आवागमन बन्द भएपछि कर्णालीपारिका विद्यार्थी विद्यालय जानबाट वञ्चित हुँदा विद्यार्थी र अभिभावकलाई उत्तिकै चिन्तित बनाएको छ । स्थानीय प्रशासनले आवागमनमा रोक लगाएर थप दुर्घटना हुनबाट रोक्ने काम त ग¥यो तर वैकल्पिक उपाय खोजी नगरिँदा विद्यार्थी पढाइबाट वञ्चित हुनु परेको हो । हिँडेर आधा घण्टामा पुग्ने दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने सरकारी योजना केवल योजनामै सीमित रहेको यस घटनाले पुष्टि गर्दछ । अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडास्थित चण्डिका माध्यमिक विद्यालयमा अध्ययनरत दैलेखको आठबिस नगरपालिकाका करिब एक सय विद्यार्थी कसरी पढाइ पूरा गर्ने भन्ने चिन्तामा छन् । उनीहरूलाई आइतबार बेलुका जोखिमपूर्ण तरिकाले डुङ्गामा तारेर घर पठाइएको थियो । विद्यालयका प्रधानाध्यापकका अनुसार, पुल नबनेसम्म विद्यालय बन्द गर्नुको विकल्प छैन ।

विसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलका रूपमा सिन्धुली र रामेछाप जिल्ला जोड्ने गरी सुनकोशी नदीमाथि खुर्कोटमा झोलुङ्गे पुल बनाएको थियो । त्यसयता ११७ वर्षको अवधिमा मुलुकमा ११ हजारको हाराहारीमा झोलुङ्गे पुल बनिसकेका छन् । दैनिक दुई वटा झोलुङ्गे पुल निर्माण हुँदै गरेका सरकारी आँकडामा देखिन्छ । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकार तथा सोभन्दा कम दुरीका पुल प्रदेश र स्थानीय तहले बनाउने कार्यविभाजन अनुसार निर्माणले व्यापकता पाएको हो । अर्कोतर्फ लामो समयदेखि सञ्चालनमा रहेका पुलको अवस्था के छ, आयु कति हो, भारवहन क्षमता कति हो, मर्मतसम्भार कति कति समयमा आवश्यक हुन्छ भन्नेतर्फ सम्बन्धित निकायले अनुगमन तथा आवश्यक मर्मतसम्भार नगर्दा हुने दुर्घटनाले गिज्याउने त सरकारी संयन्त्रलाई नै हो । यतातिर थोरै मात्र ध्यान दिने हो भने सम्भावित दुर्घटनालाई बेलैमा टार्न सकिन्छ ।