गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । कोशी प्रदेशमा कृषि प्रणालीलाई सुधार गर्न र कृषकको आयवृद्धि गर्न पोस्ट–हार्भेस्ट व्यवस्थापन महत्वबारे छलफल गर्न मण्डला एग्रिफ्रेशद्वारा एकदिने प्रादेशिक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले कृषि उत्पादनलाई उपभोक्तसम्म पुगाउन कुनै प्रकारको नोक्सानी हुन नदिने पोष्ट हार्भेष्ट प्रणालीको उपयोगबाट ४० प्रतिशत कृषि उत्पादन बृद्धि गरेसरहको राष्ट्रलाई लाभ पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख सचिव केदारनाथ शर्माले कोशी प्रदेशमा पोष्ट हार्भेष्टसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेकोमा खुशी व्यक्त गर्नुभयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले कोशी प्रदेश सरकार पोष्ट हार्भेष्ट व्यबस्थापनमा पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
मण्डला एग्रिफ्रेशकी प्रमुख कार्यकारी अधिकृत सोफी तामाङले यो संस्था नेपालकै अग्रणी पोस्ट–हार्भेस्ट व्यवस्थापन कम्पनी रहेको बताउनुभयो । उत्पादनको गुणस्तर सुधार गर्न, कृषक र बजारबीच सहज सम्पर्क स्थापना गर्न र सम्पूर्ण मूल्य श्रृङ्खलालाई सुदृढ बनाउन मण्डला विगतका वर्षदेखि निरन्तर कार्यरत रहेको कुरा बताउँदै उहाँले मण्डलाले प्रविधिको प्रयोग, बजार व्यवस्थापन, र सरोकारवालाको क्षमता विकासका माध्यमबाट कृषिमा नयाँ युगको सुरुवात गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पोस्ट–हार्भेस्ट प्रविधि, किसान र बजारको सहकार्य, तथा मूल्य श्रृङ्खलामा देखिएका चुनौतीहरू पहिचान गरी त्यसका समाधान खोज्ने प्रयास गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेशका कृषि विकास मन्त्रालय र मातहत निकायका प्रतिनिधिहरु, विभिन्न जिल्लाका अगुवा कृषकहरू, कृषि तथा वन विश्वविद्यालय, हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी, निजी क्षेत्रका प्रतिनिधिहरू, मूल्य श्रृङ्खलाका व्यापारीहरु, पोस्ट–हार्भेस्ट प्रविधिका विज्ञ तथा अनुसन्धानकर्ताहरू गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।