देशकै सबैभन्दा पुरानो उच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) अब्बल भएको हेर्ने चाहना सबैतिर छ । अरू धेरै विश्वविद्यालय खुले पनि आमनागरिकको पहुँचका निम्ति त्रिविलाई अन्य विश्वविद्यालयले उछिन्ने कल्पना पनि गर्न सकिएको छैन । नेपालका अधिकांश विद्यार्थीको भरोसा त्रिवि र यसैमा आबद्ध शैक्षिक संस्थाप्रति नै देखिन्छ । विद्यार्थीको उच्च सङ्ख्याका आधारमा विश्वमै सीमित विश्वविद्यालयको श्रेणीमा पर्ने विशिष्ट विशेषताको त्रिविको शैक्षिक गुणस्तर भने चाहे जसरी सुधार हुन सकेको छैन । यसप्रति सबैको चासो र चिन्ता छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरता यही चासो र चिन्ताको प्रतिविम्ब हो । उहाँको अग्रसरतामा त्रिविमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालय सभाको अनौपचारिक बैठक आइतबार बस्यो । यस्तो बैठक त्रिविको इतिहासमै पहिलो पटक भएको पाइएको छ ।
त्रिविको नियमित सिनेट बैठक गत मङ्सिर २७ गते बसेको थियो । कीर्तिपुरमा भएको विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबिच दुरी बढेको महसुस गरियो । विश्वविद्यालयका कुलपतिको हैसियतमा प्रधानमन्त्रीले विस्तृत छलफल गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । त्यसैले उहाँले आइतबारको बैठक निर्धारण गर्नुभयो । सिनेट सदस्यका अनुसार यस्तो कुलपतिस्तरको अनौपचारिक बैठक विगतमा कहिल्यै बसेन । सो बैठकमा त्रिविका समस्या र सुधारका निम्ति विस्तृत छलफल भयो । खुलेर कुरा गर्न पाएको मात्र होइन, विश्वविद्यालयका यावत् समस्या र तिनको समाधानको उपाय कुलपतिसमक्ष राख्न पाएकोप्रति धेरैले खुसी व्यक्त गरेको पाइयो । सो बैठकप्रति प्राज्ञिक जगत्मा पनि उच्च चासो देखिएको छ । अब त्रिविमा सुधार हुन सक्ने विश्वास पनि बढेको छ ।
अनौपचारिक बैठक त्रिविको मुख्यालय कीर्तिपुरमा नभई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो । करिब तीन घण्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सविस्तार सुझाएका थिए । बैठकमा प्रधानमन्त्रीले सबैका कुरा सुन्नुभयो । उहाँले आफूलाई विश्वविद्यालयबाट लिनुदिनु केही नभएको स्पष्ट पार्नुभयो । त्रिविको विकास, रक्षा, प्रवर्धन र प्रगति नै साझा चिन्ताको सर्वोपरि विषय भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । त्रिविको प्राज्ञिक मर्यादा र गुणस्तरमा अनेक प्रश्न उठ्ने गरेका छन् । नेपालको उच्च शैक्षिक संस्थाको जग मात्र नभई विकास र विस्तारमै अझै पनि मुख्य भूमिका भएको त्रिविको खस्कँदै शैक्षिक अवस्थाले लाखौँ विद्यार्थी विदेशी विश्वविद्यालयमा पुग्न बाध्य भएको विमर्शसमेत हुने गरेको छ । यस सन्दर्भमा अब त्रिविको सुधार गर्नैपर्ने अवस्था छ ।
त्रिविका भौतिक पूर्वाधार नै देशव्यापी छन् । यसको सम्पत्तिको प्रभावकारी व्यवस्थापन हुन सकेको देखिँदैन । भौतिक पूर्वाधारमा धनी विश्वविद्यालय भएर पनि यसको व्यवस्थापन हुन नसक्नु, धेरै जमिन मिचिएको र हराएको केही दिनअघि सार्वजनिक महेन्द्र थापाको प्रतिवेदनमा उल्लेख छ । त्रिविको शैक्षिक कार्यतालिका विगतका केही दशकमै नियमित हुन सकेको छैन । शैक्षिक कार्यक्रम अनियमित हुँदा अध्ययन/अध्यापनसमेत अनिश्चित छ । समयमा परीक्षा हुँदैन । त्रिविको शैक्षिक प्रशासन अति सुस्त देखिन्छ भने शैक्षिक सुशासनमा प्रश्न उठाउन मिल्ने अनेक समस्या छन् । कतिपय पाठ्यक्रम अद्यावधिक हुन सकेका छैनन् भने कतिपय विभाग तथा विषयमा विद्यार्थीभन्दा बढी प्राध्यापक भएको गुनासोसमेत आउने गरेको छ । नेपाली जनताको करबाट चल्ने विश्वविद्यालयमा स्रोतसाधनको प्रभावकारी उपयोग तथा व्यवस्थापन पनि अहिलेको मुख्य विषय भएको छ ।
त्रिविका यस्ता यावत् विषयमा अनौपचारिक बैठकले विस्तृत समीक्षा गरेको हुनु पर्छ । त्यसैले कुलपति ओलीले त्रिविको वेबसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यलाई सार्वजनिक गर्न आग्रह गर्नुभयो । कतिपय प्रवृत्तिगत कमजोरी पनि हुन सक्छन्, जिम्मेवार अधिकारीले काम नगर्ने तर अरूमाथि औँला तेस्र्याउने खालका कार्यव्यवहार पनि अहिले यत्रतत्र देखिन्छ । त्यस्तो प्रवृत्ति छ भने त्रिविले सुधार गर्नु पर्छ । पवित्र उच्च प्राज्ञिक संस्था पारदर्शी हुनु पर्छ । विश्वविद्यालयको समयबद्ध शैक्षिक पात्रो बनाएर त्यसको पालना हुनै पर्छ । अनौपचारिक बैठकले समस्या पहिल्याएपछि नियमित सिनेट बैठकका निम्ति कार्यसूची तयार गर्न सजिलो भएको छ । देशका अरू विश्वविद्यालयका निम्ति पनि त्रिविले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्छ । त्रिविप्रति यति मात्र अपेक्षा होइन, यो विश्वविद्यालयले विश्वकै उच्च शैक्षिक गुणस्तरको विश्वविद्यालयमध्ये एक हुनुका निम्ति नयाँ युगको मार्गचित्र कोर्नु समयको माग भएको छ ।