अमरराज नहर्की
तनहुँ, पुस ११ गते । किसानलाई पेशाबाट पलायन हुनबाट जोगाउन तनहुँमा महोत्सव हुने भएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्नेक्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकाले किसानलाई संरक्षण गर्ने मुख्य उद्देश्यले महोत्सव गर्ने निर्णय भएको महोत्सव मूल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो ।
मिश्रले भन्नुभयो, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नु पर्दैन ।’ किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भइरहेको मिश्रले जानकारी दिनुभयो । हौंसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने उहाँले बताउनुभयो ।
कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिनेछ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महासचिव सुवोध अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा दुईसय वटा स्टलहरु रहने छन् । महोत्सवमा पाँच करोड रुपियाँको आर्थिक कारोबार हुने र तीन लाख जनाले महोत्सवको प्रत्यक्ष–अप्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको वरिष्ठ उपाध्यक्ष तथा प्रायोजक समितिका संयोजक इमकुमार मल्लले जानकारी दिनुभयो । महोत्सवको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौलीबजार इकाइ रहेको छ ।