• १२ साउन २०८१, शनिबार

निलम्बित न्यायाधीश गिरीलाई सात वर्ष कैद

blog

काठमाडौँ, जेठ ३० गते । जिल्ला अदालत काठमाडौँले वैवाहिक बलात्कार मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय निर्धारण गरेको छ । निलम्बित न्यायाधीश गिरीलाई जेठ १३ गते अदालतले दोषी ठहर गरेको थियो । 

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । कसुर ठहर गरेकै इजलासले सजाय निर्धारण गर्ने व्यवस्थाबमोजिम भुसालकै इजलासले सोमबार सजाय तोकेको हो । 

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार गिरीलाई सात वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबानाको फैसला भएको छ । जरिबाना रकम पीडित राहत कोषमा जम्मा हुने छ । गिरी पुर्पक्षका क्रममा थुनामा हुनुहुन्छ । 

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहँदा गिरीलाई उहाँकी पत्नीले वैवाहिक बलात्कारको आरोप लगाउनुभएको थियो । २०७९ मङ्सिरमा बलात्कारको जाहेरी परेपछि पक्राउ परेलगत्तै न्याय परिषद्ले गिरीलाई निलम्बन गरेको थियो । उक्त मुद्दा विचाराधीन रहिरहेकै बेला २०७९ चैतमा पुनः गिरीले काठमाडौँमा बलात्कार गरेको आरोप पत्नीले लगाउनुभएको थियो । उक्त आरोपपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

जिल्ला अदालत काठमाडौँमा वैशाख १७ गते मुद्दा दायर भएको थियो । अदालतले २०८० वैशाख १९ गते गिरीलाई ५० हजार रुपियाँ धरौटीमा रिहाको आदेश गरेको थियो । जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको थियो तर गत चैत २१ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनछेक आदेश बदर गर्दै गिरीलाई थुनामा राख्न आदेश गरेको थियो । 

सर्वोच्चको आदेशपछि गिरी जिल्ला अदालतमा उपस्थित भई पुर्पक्षका क्रममा थुनामा हुनुहुन्थ्यो । पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा जिल्ला अदालतले मुद्दाको अन्तिम फैसला गरेको हो । मुद्दा विचाराधीन रहेकै बेला गिरी पत्नी भने सुनुवाइमा ढिलाइ भएको तथा प्रभावमा पारेर थुनछेक आदेश गराएको भन्दै पटक पटक अनशनसमेत बस्नुभएको थियो ।