• १२ साउन २०८१, शनिबार

सिक्किमका मुख्यमन्त्री गोलेद्वारा शपथग्रहण

blog

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुँदै ।

सिक्किम, जेठ २९ गते । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उहाँले मङ्गलबार सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो ।

गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । उहाँसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरूले पनि शपथ ग्रहण गर्नुभएको छ ।

विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुङ्गेल, पुरनकुमार गुरुङ, न्ट्सो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभयो ।

सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधान सभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

शपथग्रहणपछि बोल्नुहुँदै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहलहरू भएको बताउनुभयो । उहाँले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरू बाँकी रहेको बताउनुभयो ।