• १२ साउन २०८१, शनिबार

अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाउँछु भन्दै ठगी गर्ने चार जना पक्राउ

blog

ठगीमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी ।

काठमाडौँ, जेठ २९ गते। अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेलाई सार्वजनिक गरेको हो। तीन सय जना भन्दा बढी मानिससँग अमेरिका कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिने भन्दै १५ करोड रुपियाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो। 

उहाँले पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षे नवीन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताउनुभयो। उहाँले अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पक्राउ गरिएको बताउनुभयो। 

उहाँले वैदेशिक रोजगारीको प्रलोभन देखाएर तीन सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरूले विगत ३/४ वर्षयता तीन सय जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिनुभयो। उहाँले उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरूले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताउनुभयो।

पक्राउ पर्नेहरूले विभिन्न व्यक्तिको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकम चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताउनुभयो।

उहाँले प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो। उहाँले पक्राउ पर्नेहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताउनुभयो।