• १२ साउन २०८१, शनिबार

रत्नेचौरमा फूलेको सूर्यमुखीले पर्यटक आकर्षित

blog

बेनी नगरपालिका १ रत्नेचौरमा फुलेको सूर्यमुखी फूलमा रमाउँदै पर्यटक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), जेठ २९ गते । 
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा गरिएको सूर्यमुखी फूलको खेतीले पर्यटक आकर्षित गरेको छ । स्थानीय किसानले रत्नेचौरको फाँटमा लगाएको सूर्यमुखी फूलको खेतीले फाँटको सौन्दर्य बढाएको छ ।

सूर्यतीर फर्किएर पहेँलपुर फुलेको सूर्यमुखीमा तस्बिर र भिडिओ खिच्न बेनीका साथै बागलुङबजारबाट समेत पर्यटक आउन थालेको छन् । सूर्यमुखी फूल फुलेर पहेँलपुर हुनथालेपछि आन्तरिक पर्यटकहरू आउन थालेको स्थानीय युवा कुशल शर्माले बताउनुभयो ।

गत वर्ष भारतबाट बीउ ल्याएर परीक्षणको रूपमा सूर्यमुखीको खेती गर्नुभएका सुरत बोगटीले राम्रो आम्दानी गरेपछि अहिले रन्नेचौरका किसानले सूर्यमुखीको व्यावसायिक खेती नै गरेका छन् । 


जिल्लामा नै पहिलो पटक रत्नेचौरमा व्यसायिकरुपमा सूर्यमुखीको खेती गर्नुभएका बोगटीले भन्नुभयो, ‘‘सूर्यमुखी फूल फुल्न थालेपछि बेनी र बागलुङबाट आन्तरिक पर्यटक आउन थालेका छन् । फूल देखेर रमाइरमाई तस्बिर र भिडियो खिचेर फर्किन्छन् ।’’ 

रत्नेचौरकै बालकुमार कार्कीले यसवर्ष एक रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाएको बताउनुभयो । तेलको बजार अनुसार आगामी वर्ष थप पाँच रोपनीमा खेती विस्तार गर्ने योजनामा रहेको कार्कीको बारी पनि अहिले आन्तरिक पर्यटकका लागि आकर्षण बनेको छ । तेलन बालीअन्तर्गत अहिले रत्नेचौरमा परीक्षणका रूपमा सूर्यमुखी लगाउने कृषकको सङ्ख्या बढेको स्थानीय युवा सन्तोष रावलले बताउनुभयो ।

सूर्यमुखीको फूल फुल्न थालेसँग फोटो खिच्ने र घुम्न आउने आन्तरिक पर्यटनको भिड लाग्ने गरेको स्थानीयहरू बताउँछन् । बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा सूर्यमुखी फुलको खेती गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ ।