• १३ मंसिर २०८१, बिहिबार

म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ २९ गते ।
 गोरखाको धार्चे गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भएका पसलहरूमा म्याद गुज्रिएको खाद्य सामग्री नष्ट गरिएको छ । सोमबार गाउँपालिकाको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजार अनुगमन गर्दा सबै पसलहरूमा म्याद गुज्रिएको सामान भेटिएकाले सामान नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा बालबालिकाले प्रयोग गर्ने चकलेट, केक, आइसक्रिम, लड्ड तथा पेय पदार्थहरूको मिति गुज्रिएको पाइएकाले नष्ट गरिएको हो । धार्चे गाउँपालिकाको हुल्चुक, उहियाँ, गुम्दा, लापुमा रहेका सबै पसल तथा होटेलहरुमा अनुगमन गर्दा म्याद गुज्रिएको पाइएपछि समितिले अबदेखि सामन खरिद तथा बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न सचेत गराइएको उपाध्यक्ष गुरुङको भनाइ छ ।

गोरखाका उत्तरी भेगका व्यापारीहरूले सामानको म्याद नहर्ने भएकाले पनि डिलरबाट आएका बिक्रेताहरूले म्याद गुज्रिएको सामान छोडेर जाने भएकाले पनि अत्यधिक मात्रामा म्याद गुज्रेका सामनाहरू भेटिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।

अनुगमन समितिले डिलरबाट आएका सामान फिर्ता गर्ने सर्तमा सामानहरू सिल गरेर सम्बन्धित व्यापारीलाई नै छाडिएको साथै बाँकी सामान भने जलाएर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका वडाहरूमा पहिलो पटक वडा स्तरमा पुगेर अनुगमन गरिएकाले व्यापारीहरूलाई सचेत गराउने काम पनि गरिएको हो ।

अनुगमनका क्रममा नेपाल प्रहरीका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रमुख अमृत घले, उद्योग वाणिज्य सङ्घ माछीखोला इकाईका अध्यक्ष धन कुमार गुरुङ एवम् सामाजिक शाखा प्रमुख धनकुमारी दुराको समेत सहभागिता रहेको थियो ।