राममणि दाहाल
हेटौँडा, जेठ २९ गते । पश्चिमी मकवानपुरसँगै चितवन र धादिङ जिल्लाका चेपाङ बाहुल्य बस्तीमा खाद्यान्न अभाव भएको छ ।
खाद्यान्न अभावमा जङ्गली आँपको अचार र निहुरोको भरमा केही सातादेखि दैनिकी चलाउन बाध्य भएका छन् ।
गत वर्ष खोरियामा डढेलोसँगै सुक्खाका कारण मकै उत्पादनमा कमी हुँदा यो वर्ष विपन्न चेपाङ, तामाङ र दलित समुदायमा खाद्यान्न अभाव देखिएको हो ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले मकवानपुर, धादिङ र चितवनको चेपाङ बाहुल्य बस्तीका बासिन्दाले यो वर्ष लामो समयदेखि खाद्यान्न अभावको समस्या झेल्दै आएको जानकारी दिनुभयो ।
घरमा खाद्यान्न अभाव र खाद्यान्न खरिद गर्ने स्रोत नहुँदा कयौँले अहिले जङ्गली आँपको थिचेको अचार, निहुरो त कतिपयले खोलेको भर पर्नुपर्ने अवस्था चेपाङ बाहुल्य बस्तीमा देखिएको छ ।
खाद्यान्न अभावको समस्या अहिले व्यापक रहेको सुनाउँदै संविधान सभा सदस्यसमेत रहनुभएका चेपाङले भन्नुभयो, “अहिले मकवानपुरको राक्सिराङ र कैलाश, चितवनको राप्ती नगरपालिकाको वडा नं. ११, १२ र १३, कालिका नगरपालिकाको वडा नं. ११ र १२, इच्छाकामना गाउँपालिकाको वडा नं. ७, ८ र ९ तथा धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ६, ७ र ८ मा खाद्यान्न अभावको समस्या व्यापक छ,” उहाँले भन्नुभयो, “समयमा खाद्यान्न अभाव भएका क्षेत्रका बासिन्दाको समस्या समाधान नभएमा भोकमरीको चेपेटामा पर्ने जोखिम बढ्दो छ ।”
खाद्यान्न अभाव भएपछि आइतबार नेपाल शुष्म पुष्प समाज नारायणगढको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ का चेपाङ, तामाङ र दलित गरी १५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
३० केजीको जनही एक बोरा चामल र दुई केजी दाल १५० घरपरिवारलाई वडाध्यक्ष अक्कलबहादुर मोक्तान, राक्सिराङ गाउँ कार्यपालिका सदस्य सिङ्गलाल चेपाङ, सिलेङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णलाल तामाङलगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।
चेपाङ सङ्घ अध्यक्ष गोविन्दरामले आफू गाउँमा पुग्दा खाद्यान्न अभावमा विपन्न समुदायमा दर्दनाक अवस्था भेटेको बताउँदै गाउँ पुग्दा कतिले चार÷पाँच दिनदेखि आँप थिचेर, कतिले निहुरोको भरमा छाक टारेको त कतिपयले १२–१३ छाक खोले मात्र खाएको सुनाएको बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाको वडा नं. ७ को काम्लेमा खाद्यान्नको चरम अभाव भए पनि आइतबार लिएर गएको खाद्यान्न अपुग भएपछि वितरण गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले चेपाङ सङ्घको शनिबार भएको बैठकमा समेत चेपाङ बस्तीमा भएको खाद्यान्न अभावका बारेमा समीक्षा भएको बताउँदै स्थानीय तहले नहेर्दा र खाद्यान्न अभाव हुने स्थानलाई लक्षित गरी विशेष कार्यव्रmम नबनाउँदा अहिलेको समस्या आएको बताउनुभयो ।
अर्मपर्म गर्ने, वैदेशिक रोजगारीमा परिवार गएका, सामाजिक सुरक्षा भत्ता पाउने परिवारलाई केही राहत भए पनि दैनिक ज्यालादारी गर्ने र खोरियाको भरमा दैनिकी चलाउनेलाई अहिले समस्या परेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार चेपाङ समुदायको अधिकांश आफूले उत्पादन गरेको खाद्यान्नले तीन महिना, छ महिना र नौ महिना मात्र खान पुग्द छ ।
सामाजिक सुरक्षा भत्ता लिँदै आउनुभएका स्थानीय लालबहादुर चेपाङले भत्ताका कारण आफूलाई चामल किन्न केही सहज भएको बताउनुभयो । गत वर्ष खोरिया डढेलोले क्षति पु¥यायो तर पालिकासँग के कति क्षति भयो भन्ने तथ्याङ्क पनि छैन, गाउँपालिका बाटो बनाउने नाममा डोजर लगाउन र पाइप वितरणमै सीमित भएका छन्, परम्परागत वा आधुनिक कृषिबाट उत्पादन वृद्धि गर्ने हो त्यतातिर ध्यान नै नगएको भन्दै संविधान सभा सदस्य गोविन्दरामले पालिकाले कृषिमा ध्यान नदिएको गुनासो गर्नुभयो ।
“केही समयपछि चिउरी पाक्दै छ यसले केही समस्या हल होला कि ?,” उहाँले भन्नुभयो, “यो वर्ष मकै केही राम्रो भएकाले यो वर्ष जस्तो अर्को वर्ष भोकमरीको समस्या नहोला ।”
खाद्यान्न अभाव भएपछि यसअघि पनि राक्सिराङ गाउँपालिका वडा नं. ७ को डामराङमा ८० घरधुरी र वडा नं. ८ को माईसिराङ, देवीटार, लाइसिरा र जिर्खेडाँडाका ७० घरधुरी चेपाङ परिवारलाई १५० बोरा चामल, तीन सय केजी दाल र तीन सय लिटर तेल नेपाल बौद्ध विहारमार्फत वितरण गरिएको थियो ।