स्याङ्जा समाचारदाता
स्याङ्जा, जेठ २९ गते । आँधीखोला गाउँपालिका–१ को पञ्चमूल सामुदायिक वनमा लालीगुराँस पार्क बनाउन थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालीगुराँसका बिरुवा उपलब्ध गराएसँगै लालीगुराँस पार्क बनाउने काम थालिएको हो ।
वडाध्यक्ष पवनकाजी अधिकारीले दुई सय हेक्टरमा फैलिएको पञ्चमूल सामुदायिक वनको १० हेक्टरमा लालीगुराँस पार्क बनाइने बताउनुभयो । उहाँले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीन सय लालीगुराँसका बिरुवा रोपण थालिएको जानकारी दिनुभयो ।
सिरुबारी घरबास यहीँ रहेको बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले पार्क बनाउने अभियान अगाडि बढाएको बताउनुभयो । पाँच वर्षमा सक्ने गरी अगाडि बढाएको योजना समग्रमा एक हजार पाँच सय लालीगुराँसका बिरुवा रोपिने अध्यक्ष अधिकारीले बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहा तथा १५० वटा गुलमोहर र १५० वडा कल्की फूल तथा टिमुर र अमलासमेत रोप्ने योजना रहेको बताइएको छ ।