• १३ मंसिर २०८१, बिहिबार

देवकोटामाथि माओवादीले थाल्यो कारबाही

blog

सांसद फणीन्द्र देवकोटा ।

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ २८ गते । संसदीय दलको निर्णय विपरीत नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै सांसद फणीन्द्र देवकोटामाथि नेकपा (माओवादी केन्द्र) ले कारबाही थालेको छ । 

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटाले सोमबार पाण्डेलाई विश्वासको मत दिनुभएको हो । उहाँले फ्लोर क्रसगरी मत दिएपछि पाण्डे नेतृत्वको सरकार जोगिएको छ । 

नेसपा नेता भए पनि माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएकाले उहाँ माओवादी केन्द्रकै संसदीय दलको सदस्यका रूपमा हुनुहुन्थ्यो । देवकोटा आइतबारको संसदीय दलको बैठकमा पनि सहभागी भएको र ह्विपको पत्र लिएर गएको प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिनुभयो । 

माओवादी केन्द्रले पाण्डेलाई मत नदिने निर्णय गरेको थियो । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले संसदीय दलको बैठकबाट कारबाहीको निर्णय भएको जानकारी दिनुभयो । 

“कारबाहीको प्रक्रिया सुरु हुन्छ । हामीले कारबाहीको निर्णय गरी पार्टी केन्द्रलाई पठाएका छौँ । उताबाट आएपछि हामी प्रदेश सभामा पटाउँछौँ” उहाँले भन्नुभयो । देवकोटा माओवादीको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । 

६० सदस्यीय प्रदेशसभामा सङ्घीय गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबैको समर्थन जुटाएर मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनुभएको छ । 

माओवादी र एमालेका सांसदहरूले केहीबेर सदनमा नाराबाजी गर्नुभएको थियो ।  गैर संसदीय गतिविधि भएको भन्दै नारा लगाएको सांसदहरूले बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित भएका सांसदसमेत रहेर एउटै संसदीय दल गठन हुने व्यवस्था छ । 

त्यहाँ सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था राखिएको छ । ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था रहेको छ ।  

सांसद देवकोटाले आफूले आफ्नो पार्टी नेसपाकै निर्णयअनुसार मतदान गरेको प्रतिक्रिया दिनुभयो । “म नेपाल समाजवादी पार्टीको नेता र सांसद हुँ । पार्टीको निर्देशन कार्यान्वयन गरेको हुँ” उहाँले भन्नुभयो, “एउटा पार्टीले अर्को पार्टीलाई कारबाही गर्न मिल्ने हो भने त दलीय व्यवस्था नै खारेज गरिदिए भइहाल्यो !”

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे), फ्लोर क्रस गर्नुहुने सांसद फणीन्द्र देवकोटा र राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएको छ । राप्रपा संसदीय दलका नेता गुरुङले विश्वासको मत दिए पनि सरकारमा जानेबारे दलले निर्णय लिइनसकेको बताउनुभयो ।