गोरखा, जेठ २८ गते । धार्चे गाउँपालिका-५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब ४१ लाखको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।
गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उहाँको भनाइ छ । “भवन निर्माणका लागि पालिकाले करिब ३८ लाख बजेट विनियोजन गरेको थियो”, उहाँले भन्नुभयो, “त्यसबाहेक तीन लाख १३ हजार आठ सय ५८ बराबरको स्थानीय उपभोक्ता समितिमार्फत श्रमदान भएको छ ।” वि.सं.२०८० मङ्सिरमा गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएको थियो । निर्माण सुरु भएको करिब पाँच महिनामा काम सम्पन्न भएको हो ।
भवन निर्माण सम्पन्न भएसँगै अब माछीखोला प्रहरी चौकीले पक्की भवनबाट नागरिकलाई सेवा दिन पाउने भएको छ । निर्माण सम्पन्न गरिए पनि भवन हस्तान्तरण गर्न बाँकी छ । लामो समयदेखि जीर्ण बनेको अस्थायी टहराबाट सञ्चालित माछीखोला प्रहरी चौकीबाट प्रहरीलाई हातहतियारको सुरक्षाका साथै सेवा प्रवाहमा समेत कठिनाइ हुँदै आएको थियो । “प्रहरी चौकीको भवन नहुँदा प्रहरीले दिने सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समस्या रहेको थियो,” उहाँले भन्नुभयो, “अब निकै सहज हुने भएको छ ।” रासस