• १३ मंसिर २०८१, बिहिबार

सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन निर्माण

blog

गोरखाको सहिद लखन गाउँपालिकाकाे सुविधासम्पन्न प्रशासकीय भवन । तस्बिर : कमला नहर्की

गुणबहादुर रोका
सुलीकोट, जेठ २८ गते ।
गोरखाको सहिद लखन गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । बहुउद्देश्यीय सभाहलबाट सेवा सुविधा दिँदै आएको गाउँपालिकाले सात वर्षपछि सुविधासम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।

गाउँपालिकाको – ६ घैरुङ पिपलछापमा झण्डै डेढ रोपनी जग्गामा अस्थायी भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । अहिले बनेको नयाँ भवन सम्पन्न भइसकेको छ । यस चारतले सुविधासम्पन्न भवनमा एक कार्यापालिकाको सभाहल, एक न्यायिक समितिको सभाहल र एक सभा सेमिनर गरी तीन वटा सभाहलसहित ५२ कोठा निर्माण गरिएको छ ।

प्रशासनिक भवन कुल सात करोड ७८ लाख रुपियाँ बजेटमा निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो । गाउँपालिका र अभिसा विकन जेभी निर्माण कम्पनीबिच २०७७ साल चैत २ गते सम्झौता भई २०७९ साल चैत ३ गते सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले कोभिड लगाएत विविध कारण देखाउदै काम सम्पन्न नभएपछि गाउँपालिकालाई म्याद थप्न आग्रह गरेको थियो ।

गाउँपालिकाले एक पटक २०८१ साल असार मसान्तसम्म सम्पन्न हुने गरी म्याद थप गरीएको प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनुभयो । निर्माण सुरु गरिए पनि एक वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

निर्माण भएको नयाँ प्रशासनिक चारतले भवनमा बैठक कक्ष, तीन सभा हल, गरी अन्य ४९ वटा गरी ५२ कोठा छन् । प्रशासकीय भवन वरिपरि ३५ मिटरको मेसनरी वाल, जेनेटर हाउस पनि बनाइएको छ । अपाङ्गमैत्री शौचालय, स्तनपन कक्ष लिफ्टको समेत व्यवस्था भएको छ । भवनको सबै काम सम्पन्न भइसकेकाले आगामी साउनबाट सबै सेवा नयाँ भवनबाट दिने गरी तयारी थालिएको छ ।

सुविधासम्पन्न नयाँ प्रशासकीय भवनसँगै सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत मगरको विश्वास छ । ‘‘गाउँपालिकाको पक्की भवन नहुदाँ एउटा भवनबाट सेवा प्रवाह गर्न असहज भएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘अब विश्वस गरौँ, त्यहाँबाट काम सुरु भए पछि निकै नै सजिलो हुन्छ ।’’

अहिलेसम्म गोरखा जिल्लाकै सबैभन्दा उत्कृष्ट साथै अपाङ्गमैत्री ५२ कोठे चिटिक्कै परेको पक्की भवन सहिद लखन गाउँपालिकामा निर्माण भएको गाउँपालिकाले दाबी गरेको छ । सहिद लखन गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषित भइसकेको छ ।