लीलाधर वली
घोराही, जेठ २८ गते । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गा ल्याउन पहल थालिएको छ । प्रतिष्ठानले एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरुप आवश्यक जग्गा ल्याउनका लागि पहल थालेको हो ।
घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको जग्गा प्रतिष्ठानको नाममा ल्याउनका लागि पहल भइरहेको प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभएको छ । विगत ७ वर्षदेखि प्रयास भएपनि काम सफल हुन नसकेको भन्दै प्रतिष्ठानका रजिष्ट्रा लम्सालले यस पटक जग्गा ल्याउने गरि काम भइरहेको जानकारी दिनुभएको छ । जग्गा प्राप्तका लागि जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसँगको समन्वय र सहयोगमा छलफल प्रक्रिया अघि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "अहिले प्रतिष्ठानको भौतिक संरचनामा एमबिबिएस पढाइका लागि काम लाग्ने भएकाले एमबिबिएस पढ्ने विद्यार्थी र प्राध्यापकहरुलाई आवासको सुविधाका थप जग्गा आवश्यक रहेकाले जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ ।" जग्गा प्राप्तका लागि छलफलसँगै नवलपुरमा रहेको साढे ५ बिघा जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रक्रिया पूरा गरेर उक्त जग्गा ल्याउन सकिए जिल्लामा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।