• १३ मंसिर २०८१, बिहिबार

तनहुँका स्थानीय तहलाई चार अर्ब ८९ करोड ३२ लाख बजेट

blog

अमरराज नहर्की
तनहुँ, जेठ २८ गते ।
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्षमा चार अर्ब ८९ करोड ३२ लाख बजेट पाउने भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्ला चार नगरपालिका र छ गाउँपालिका गरी  १० पालिकाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि ४० करोड ५७ लाख बजेट बढेर आउने भएको छ । अर्थ मन्त्रालयको विवरण अनुसार तनहुँको लागि चालुतर्फ तीन अर्ब ८३ करोड आठ लाख र पुँजीगत तर्फ एक अर्ब छ करोड २४ लाख रुपियाँ छ ।

यस्तै, अर्थ मन्त्रालयले चालु आवका लागि चालु तर्फ तीन अर्ब ८२ करोड ४७ लाख रुपियाँ र पुँजीगत तर्फ ६६ करोड २८ लाख रुपियाँ गरी चार अर्ब ४८ करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

नगरपालिकातर्फ सबैभन्दा बढी व्यास नगरपालिकालाई एक अर्ब ३४ करोड २९ लाख रुपियाँ विनियोजन गरिएको छ भने भिमाद नगरपालिकालाई सबैभन्दा कम ४१ करोड २८ लाख विनियोजन गरिएको छ । नगरपालिकातर्फ भानुलाई  ५७ करोड ५९ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १३ करोड ६१ लाख, सशर्त अनुदानमा ४० करोड ९८ लाख, विशेष अनुदान तीन करोड विनियोजन गरिएको छ ।

भिमादलाई समानीकरण अनुदानमा दश करोड ९७ लाख, सशर्त अनुदानतर्फ २९  करोड ८१ लाख र समपूरक अनुदानमा ५० लाख गरी ४१ करोड २८ लाख विनियोजन गरिएको छ । जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह व्यासलाई समानीकरण अनुदानमा १८ करोड नौ लाख, सशर्त अनुदानतर्फ एक अर्ब १५ करोड ६० लाख, समपूरकतर्फ ६० लाख गरी एक अर्ब ३४ करोड २९ लाख विनियोजन भएको छ ।

शुक्लागण्डकीलाई ७८ करोड ४१ लाख विनियोजन गरिएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा एक करोड १० लाख, सशर्त अनुदानतर्फ ६२ करोड २५ लाख र  समपूरकतर्फ एक करोड १० लाख छ ।

गाउँपालिकाका सबैभन्दा धेरै ऋषिङलाई ३३ करोड ३२ लाख सबैभन्दा कम आँबुखैरेनीलाई २६ करोड ३६ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरणतर्फ नौ करोड ४१ लाख, सर्शत तर्फ १६ करोड ३५ लाख  र समपुरक तर्फ ६० लाख गरी २६ करोड ३५ लाख बजेट प्राप्त गरेको छ । घिरिङले समानीकरण तर्फ आठ करोड ४१ लाख, सशर्ततर्फ १७ करोड पाँच लाख र समपूरकतर्फ रु तीन करोड गरी २८ करोड ४६ लाख बजेट प्राप्त गरेको छ ।

देवघाटले समानीकरणतर्फ सात करोड ८३ लाख, सशर्त तर्फ २१ करोड ७० लाख र समपूरकतर्फ रु एक करोड गरी ३० करोड ५३ लाख बजेट प्राप्त गरेको छ । म्याग्देले समानीकरण तर्फ नौ करोड ४१ लाख, सशर्ततर्फ १६ करोड ४६ लाख र विशेषतर्फ रु तीन करोड गरी ३५ र समपूरकतर्फ एक करोड २० लाख गरी २८ करोड ४९ लाख बजेट प्राप्त गरेको छ ।  बन्दीपुरले समानीकरणतर्फ आठ करोड ७० लाख, सर्शत तर्फ २० करोड ९९ लाख र समपुरक तर्फ रु एक करोड गरी ३० करोड ६९ लाख बजेट प्राप्त गरेको छ ।

जिल्लाका १० स्थानीय तहहरूलाई विनियोजित बजेटमा समानीकरण अनुदानतर्फ एक अर्ब १० करोड ५७ लाख, सशर्त अनुदानमा तीन अर्ब ६३ करोड ८० लाख, विशेष अनुदानमा चार करोड ९५ लाख र समपूरक अनुदानतर्फ १० करोड गरी कुल चार अर्ब ८९ करोड ३२ लाख बजेट विनियोजन भएको हो ।