गुणबहादुर रोका
सुलीकोट, जेठ २८ गते । गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपलका महिला बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर स्वारोजगार तथा आत्मनिर्भर बन्दै गएका छन् ।
आफ्नै गाउँघर तथा घरकै बुबा, हजुबुबाबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीबिका चलाउन सहज हुने विश्वास लिइएको वडा –२ का महिला सञ्जालका अध्यक्ष पार्वती बानियाँले जानकारी दिनुभयो ।
बाँसको चोयाबाट फ्रेम, कुर्ची, मेकअपका सामान राख्ने, डोको, थुम्से, मोला, बुरुस, मन्जन तथा सजावटका सामान बन्ने गरेको छ । त्यही सामान बजारमा खरिद गर्दा महङ्गो पर्ने साथै, त्यही सामान लिन काठमाडौं, चितबन र पोखरा जानुपर्ने भएकाले त्यसको अन्त्य गर्न महिला स्वारोजगार बन्ने पक्रियामा अघि बढेको पालुङ्टार नगरपालिका कार्यापालिका सदस्य मनिका अधिकारीले बताउनुभयो ।
स्थानीय रुपमा उत्पादन भएका सामान सुलभ मुल्यमा पाइने भएकाले आवश्यकताका आधारमा गाउँघरमा पनि खरिद गरी लैजाने गरेको पाइन्छ । अहिले बनेका बाँसका सामानहरु गाउँघरमै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानु परेको छैन, कार्यपालिका सदस्य मनिका अधिकारीले भन्नुभयो, “मिहिनेत गरेमा आम्दानीको साथै समयको सदुपयोग र स्वारोजगार बन्न सहज भएको छ ।”
महिनामा लगभग ५ दर्जनभन्दा बढी चोयाबाट बन्ने सामान बिक्रीबाट राम्रो आम्दानी महिलाले गर्दै आउनुभएको छ । अहिलेसम्म बुनेका सामग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नु परेको छैना । स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएदेखि महिला सञ्जाल बनाउँदै सीप सिक्दै उद्यमी बनेर आत्मनिर्भर बन्न तयार भएका हुन् ।
२० जना महिलाले २० दिनको तालिम लिएपछि चोयाका सामानहरु बनाउन सक्ने भएका हुन् । त्यसबाट आएको मुनाफा कामका आधारमा बाँडिने भएको छ । अब स्थानीय सरकारले परम्परागत सीप प्रवर्धन गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिने खालका कार्यक्रम ल्याएर स्वरोजगार बनाई बाहिरबाट आएका सामान निरुत्साहित गर्नु पहिलो आवश्यकता छ ।
यता, पालुङटार नगरपालिकाका १० वटा वडामा महिलालाई उद्यमी बनाउन बिभिन्न सीपहरु प्रदान गर्दैआएकाले १० वटै बडाका महिला उद्यमी बनी स्वरोजगार बनाउने अभियानमा नगरपालिका रहेको पालुङ्टार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले बताउनुभयो ।